• १५ असोज २०८२, बुधबार

थारु गाउँमा सखिया नाचको रौनक

blog

सखिया नाच देखाउँदै थारु युवतीहरु ।

अविनाश चौधरी

धनगढी, असोज १५ गते । पौराणिक सखिया नाचले कैलाली, कञ्चनपुरको थारु बस्ती गुल्जार बनेको छ । हरेक चाडपर्वमा फरक फरक किसिमको नाचगान गर्ने थारु समुदाय दसैँमा सखिया नाच गरिरहेका हुन् । 

आज पिटरहुवाको दिन विभिन्न गाउँ, टोलमा सखिया नाच भइरहेका छन् । यसैगरी, झुमरा नाच पनि देखाउने कार्य भइरहेको छ । यो समुदायमा विशेष गरेर दसैँ, दिपावलीमा सखिया, झुमरा नाच नाच्ने चलन छ । दसैँको हप्तादिन अगाडिबाटै गाउँघरमा सखिया नाच भइरहेको कैलारी गाउँपालिका –६ धर्मापुर कुलराज चौधरीले बताउनुभयो । 

सखिया नाचले गाउँघरमा दसैँको हर्षोल्लास बढेको उहाँको भनाइ छ । त्यस्तै, कञ्चनपुरको विभिन्न गाउँ सखिया नाचमय रहेको बेलौरीका किसन गमुवाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो यता लगभग सबै गाउँ सखिया नाचमय छ ।”

सखिया दसैं, तिहारको अवसरमा थारु समुदायका महिलाले सामूहिक रुपमा नाच्ने परम्परागत नृत्य हो । सबैले एकैनासको मौलिक पहिरन लगाएर यो नाच देखाउने गरेको जनाइएको छ । मादल बजाउने ‘मदरिया’को निर्देशन र मादलको ताल (खोट) अनुसार उनीहरुले विभिन्न तरिकाको नाच देखाउने गरेको बताइन्छ ।  

साथी सङ्गीहरु मिलेर सामूहिक रुपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिन्छ । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी अर्थात साथीहरु मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको हो । सखिया नाच थारु समुदायको मौलिक लोकनृत्य रहेको धनगढी उपमहानगरपालिका –५ जाइँका भलमन्सा कुलवीर चौधरीले बताउनुभयो । 

उहाँले दसैँ आउनुभन्दा अगाडि जस्तोसुकै पहिरनमा सखिया नाच देखाउने गरे पनि दसैँमा थारु पहिरन लगाएर सखिया नाच देखाउने गरिएको जानकारी दिनुभयो ।