गणेश खनाल
अर्घाखाँची, असोज १५ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सल्लाकार र विज्ञसहित ६ जनालाई हटाएका छन्। मुख्यमन्त्री आचार्यले चार जना विज्ञ तथा दुई जना सल्लाहकार गरेर ६ जनालाई बिदा गर्नुभएको हो।
प्रदेश सरकारले सुरुमै पूर्व विशिष्टको सेवा खोस्ने निर्णय गरेको थियो। खर्च कम गर्ने उद्देश्यले उहाँहरुसँगकै सहमतिमा १५ दिन अगाडि नै उहाँहरुलाई धन्यवादसहित बिदाई पत्र दिएको मुख्यमन्त्री आर्चायले बताउनुभयो।
प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदले सुविधाका नाममा बनाएका जम्बो सचिवालय र स्वकीय सचिव राखेर खर्च बढाएको भन्दै सरकारले यस्तो सुविधा रोक्ने निर्णय संघीय सरकारले गरेको छ।
लुम्बिनीमा संघीय सरकारको निर्णय अनुसार अझै मुख्यमन्त्री आचार्यको सचिवालयबाट पाँच जनालाई हटाउनु पर्ने अवस्था छ।
अहिले मुख्यमन्त्री हटाकामध्ये राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली, जनसम्पर्क सल्लाहकार रामबहादुर राउत, विज्ञ ईश्वरीप्रसाद अर्याल (अर्थ), जीवन अर्याल (पूर्वाधार), युवराज घिमिरे (ग्रामीण विकास), दलबहादुर गुरुङ (शिक्षा) हुनुहुन्छ।
राजनीतिक सल्लाहकार ज्ञवालीले राज्यमन्त्रीसरह मासिक ८० हजार ८४० रुपियाँ तलब बुझ्नु भएको थियो। यसबाहेक उहाँले एकजना स्वकीय सहायक, एक कार्यालय सहयोगी र एक सवारी चालकसमेत नियुक्त गर्नुभएको थियो। राउतले सहायक मन्त्रीसरह मासिक ६४ हजार ८०० रुपियाँ सुविधा पाउनुभएको थियो। उहाँले छुट्टै ३ जना कर्मचारी नियुक्त गर्न पाउने सुविधा थियो।
शिक्षा विज्ञ गुरुङले आफूसहित ६ जनाले सहमतिमै बिदा लिएको र प्रदेश सरकारको तर्फबाट बिदाई पत्र पाइसकेको बताउनुभयो।