• १५ असोज २०८२, बुधबार

पाँचथरमा नचाइयो जोर निशान

blog

महानवमीका अवसरमा पाँचथरको याङवरक ४ थर्पुमा देखाइका जोर निशान । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, असोज १५ गते । पाँचथरको याङवरक गाउँ पालिका ४ को कालिका निशान धाममा धुमधामका साथ जोर निशान नचाइएको छ ।

वर्षौंदेखिको परम्परालाई निरन्तरता दिँदै यहाँ कम्फु र जङ्गे नामका जोर निशान धुमधाम साथ नचाइएको हो । यी निशान प्रत्येक वर्ष महानवमीका दिन नव दुर्गा भवानीको प्रतिक र शक्तिका रुपमा पुजा गरेर नचाउने चलन छ । यो वर्ष पनि निशान प्रदर्शनीलाई निरन्तरता दिइएको हो ।

यी निशान १८३१ साल देखि देखाउन थालिएको इतिहास छ । नेपाल राज्य एकिकरणका क्रममा लिम्बूवान फौज र साह बंशीय सेनाबिच छ पटक सम्म भएको युद्धमा दुवैतर्फ हारजित नभएपछि साह सम्झौता गर्दै साह बंशीय राज्यका सेनाले लिम्बुवानलाई उपहार स्वरुप छोडेका २ वटा निशान सहित तत्कालिन युद्धमा प्रयोग भएका हात हतियार र खुडा खुकुरी दशैंको अवसर पारेर महानवमीका दिन प्रदर्शन गर्ने चलन रहेको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सारनन्द योङहाङ बताउनुहुन्छ ।

निशानसँगै पृथ्वी नारायण शाहको बाइसे चौविसे राज्य एकिकरणका समयमा युद्व ताका प्रयोग भएका पुरातात्विक हतियार र गरिएको छ ।

वर्षको ३ सय ६४ दिन लिम्बुवानका जिम्मावालहरुको घरमा राखिन्छ । निशानप्रदर्शन गर्न थालेको २ सय ४९ वर्ष पछि सेनाको सलामी सहित सम्मान गर्ने परम्पराको थालनी गरिएको स्थानीय आयोजकले जनाएको छ । 

निशान प्रदर्शनको जिम्वेवारी याङवरक गाउपालिकाको ४ नम्वर वडाले लिएको छ । निशान जात्रा हेर्दा चिताएको काम पुरा हुनका साथै शक्ति प्राप्त हुने विश्वासमा महानवमीका दिन यहाँ पाँचथर सँगै ताप्लेजुङ, इलाम, तेह«थुम र भारतको सिक्किम र दार्जिलिङवाट पनि दर्शनार्थी आएका थिए ।