अर्जुन काफ्ले
स्याङ्जा, असोज १५ गते । भीरकोट नगरपालिकामा क्षेत्री समाजले समुदायको सक्रियतामा एक करोड ५१ लाखको लागतमा क्षेत्री समाज बहुउद्देश्यीय भवन निर्माण गरेको छ ।
भीरकोटले वडा –१ बयरघारीमा, पुलको मुखमा क्षत्री समाज नेपालले निर्माण गरेको भवन आठ रोपनी आठ आना तीन पैसा क्षेत्रफलमा फैलिएको छ ।
गतसाल २०८१ भाद्र ३१ गते घटस्थापनाका दिनमा शिलान्यास गरिएको भवन एक बर्षमा निर्माण सएिको हो । सात हजार १६५ बर्गफिट क्षेत्रफलमा निर्माण भएको एक तले भवनमा एक हजार जना क्षमताको सभाहल रहेको छ ।
भवन निर्माणका लागि समुदायस्तरबाट एक करोड ११ लाख स्वतस्फूर्त रूपमा उठेको अध्यक्ष मीनबहादुर केसीले बताउनुभयो । यहाँ १६ जनाबाट एक लाखभन्दा बढी, २८ जनाले ५० हजारभन्दा बढी र ५७७ जनाले पाँच हजारभन्दा बढी रकम सहयोग गरेको केसीले बताउनुभयो ।
भवन निर्माणमा क्षेत्री मात्र नभएर, बाहुन, मुस्लिम लगायतको सहयोग रहेको बताउँदै केसीले पाँच हजारभन्दा कम पनि एक हजारको सहयोग रहेको बताउनभयो । भवनभित्र बाथरूम, शौचालय, पोशाक परिवर्तन कक्ष र कार्यालय कक्ष रहेको छ भने भवनमा शुद्ध खानेपानी, भान्सा कक्ष र हवनकुण्डको सुविधाको रहेको छ । भवन निर्माणका लागि भीरकोट नगरपालिकाले १० लाख सहयोग गरेको केसीले बताउनुभयो ।