• १५ असोज २०८२, बुधबार

दसैँमा सुनसान दमौली बजार

blog

सुनसान बनेको दमौली बजार । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज १५ गते । दसैँको रमाइलोमा तनहुँको सदरमुकाम दमौली बजार सुनसान बनेको छ । प्रायः समयमा भीडभाड रहने दमौली बजार अहिले चकमन्न देखिएको हो । चाडपर्व मनाउन सर्वसाधारण गाउँ फर्किएपछि बजार सुनसान बनेको हो । 

दसैँ सुरु भएदेखि अष्टमीसम्म काठमाडौं, चितवन, पोखरा लगायतका सहरबाट फर्किने र गाउँबाट किनमेल गर्न आउने सर्वसाधारणका कारण बजारमा निकै चहलपहल देखिएको थियो । तर टीकाको अघिल्लो दिन बुधबारदेखि भने बजार सुनसान बनेको हो । जिल्ला सदरमुकाममा प्रायः कर्मचारी, विद्यार्थी, व्यवसायी र कामदार बस्ने गर्दछन् । रोजगारी वा अध्ययनका लागि जिल्लामा केन्द्रित हुने उनीहरू चाडपर्व लागेसँगै गाउँ फर्किएपछि सधैं चहलपहल हुने बजार सुनसान बनेको हो ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रका अनुसार चाडपर्वको समयमा बजार खाली हुनु सामान्य भएपनि यसपटक अझै धेरै सुनसान देखिएको छ । “अष्टमीसम्म बजारमा निकै भीड थियो, तर नवमीदेखि बजार एक्कासी खाली भयो । यो दसैँमा दमौली बजार पुरै चकमन्न भएको छ,” अध्यक्ष मिश्रले भन्नुभयो । उनका अनुसार अहिले बजारक्षेत्रमा स्थानीयबासी मात्र देखिन्छन् । सहरबासी गाउँ फर्केपछि बजारका पसलहरू बन्द छन् भने चोक र बसपार्कसमेत सुनसान बनेका छन् ।

बजार सुनसान भएपनि गाउँघर भने चहलपहलयुक्त बनेका छन् । परिवारसँगै चाडपर्व मनाउन गाउँ फर्किएका मानिसहरूले गाउँलाई रमाइलो बनाएका छन् । व्यास नगरपालिका–१४ की अप्सरा अधिकारी पन्थका अनुसार दसैंमा पुख्यौली गाउँ फर्किएर आएकोले गाउँ भरीभराउ हुँदा निकै रमाईलो भएको छ । पन्थले भन्नुभयो,‘दुःख, सुख साट्ने अवसर मिलेको छ आत्मियता बढेको छ ।