• १५ असोज २०८२, बुधबार

परदेशबाट युवाहरु फर्केपछि गाउँमा चहलपहल

blog

तनहुँको सदरमुकाम दमौलीमा जाउँ जाँदैगरेका यात्रु । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज १५ गते । दसैं सुरु भएसँगै तनहुँका गाउँहरू उत्सवको रौनकले  भरिभराउ भएका छन् । लामो समयदेखि सुनसान देखिएका गाउँघर चाडपर्व मनाउन फर्किएका युवाहरुले गर्दा फेरि चहलपहलले बढेको हो । 

ऋषिङ गाउँपालिका –१ कोइदिमका बुद्धिमान रानाका अनुसार परदेश गएका युवाहरू घर फर्किएसँगै गाउँमा भेटघाट, खुशी र उमङ्ग छाएको छ । व्यास नगरपालिका –६ साँजाका देउराज गुरुङले गाउँमा फर्किएका नातेदार र साथीहरूको आगमनले उत्सवको माहोल बनेको बताउनुभयो । 

जिल्लाभर चाडपर्वका लागि फर्किनेहरूको चाप बढेसँगै बस तथा जीपहरू यात्रुले भरिभराउ छन् । यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार ६ स्थानमा सहायता कक्षसमेत स्थापना गरिएको छ ।

दसैं र तिहारले तनहुँका १० वटै पालिका गाउँघरमा रमाइलो, भेटघाट र उमङ्ग थपेको स्थानीय बासिन्दाहरूले बताउनुभयो । व्यास नगरपालिका –१३ ओटाङ्दी, पोखरीभञ्ज्याङका ९३ वर्षीय रामनाथ सेढाईंका शब्दमा, “दसैं आउँदा गाउँभरी भेटघाट र खुशीले भरिन्छ, कुनै दुःख–सुखमा मान्छेको कमी नहुने अवस्था छ ।”