• १५ असोज २०८२, बुधबार

छाब्दी बाराही भरिभराउ, पर्यटन व्यवसायी खुसी

blog

छाब्दी वाराही मन्दिरमा लागेको भक्तजनको घुइँचो । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज १५ गते । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा दसैंको अवसरमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । मनोकांक्षा पूरा हुने जनविश्वासका साथ पूजाअर्चना र भाकल बुझाउन भक्तजनहरूको बाक्लो भीड देखिएको हो । 

भीड बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । भक्तजनको भीड धेरै भएको व्यापार राम्रो हुँदा उत्साह मिलेको छाब्दीस्थित अप्सरा होटल एण्ड लजको सञ्चालिका अप्सरा अधिकारी पन्थले बताउनुभयो ।

व्यास नगरपालिका ४ का वडा सदस्य सरोज भण्डारीले परिवारसहित मन्दिर आएर पूजाआजा गरेको बताउनुभयो । भण्डारीले भन्नुभयो, “मनोकांक्षा पूरा हुने र मनमा शान्ति मिल्ने विश्वासका साथ मन्दिर आउने गरेको छु ।” व्यास–१ भादगाउँस्थित निर्मल माध्यामिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले दसैंको समयमा देवीको पूजा गर्दा बढी लाभ हुने विश्वासका साथ दर्शन गरेको बताउनुभयो । लामो लाइनले गर्दा पालो पाउन तीन घण्टा कुर्नुपरेको अनुभव उहाँले सुनाउनु भयो । 


 बन्दीपुर गाउँपालिका–१ नाहालाकी समिक्षा शर्माले पनि मनोकांक्षा पूरा हुने विश्वासका कारण वर्षेनी दसैंमा मन्दिर आउने गरेको बताउनुभयो । भीड व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय छाब्दीवाराही र छाब्दी युवा क्लबका करिब १५ जना युवाले संयुक्त पहल गरेका छन् । अपाङ्गता भएका, वृद्धवृद्धा, बालबालिका र अशक्त भक्तजनलाई सहज प्रवेशको व्यवस्था मिलाइएको छ ।

मन्दिरका मूल पुजारी चोकबहादुर आलेका अनुसार बिहानैदेखि भक्तजनको भीड लाग्ने भएकाले पुजारीहरूलाई भ्याइनभ्याइ हुन्छ । हाल मुख्य मन्दिरमा तीन, बलि दिने स्थानमा दुई र टीका लगाएर आशीर्वाद दिने गरी छ जना पुजारी खटाइएका छन् । बोका, कुखुरा, भेडा, हाँस र परेवा बलि दिने परम्परा पनि यहाँ चलिआएको छ ।

छाब्दी बाराही विकास कोषका अनुसार वार्षिक करिब छ लाख भक्तजनले मन्दिरमा पूजाअर्चना गर्ने गरेका छन् । धार्मिक आस्था मात्र नभई पर्यटकीय आकर्षणको रूपमा समेत यो मन्दिरको महत्व बढ्दै गएको छ ।