• १५ असोज २०८२, बुधबार

आश्विन शुक्ल नवमी : तलेजु भवानी मन्दिर सबैका खुला

blog

पूजाआजा एवं दर्शन गर्न लाममा बसेका दर्शनार्थी । फाइल तस्बिर

काठमाडौँ, असोज १५ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न खुला गरिने तलेजु मन्दिर खुला गर्न सबै तयारी पूरा भएको छ ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन् । 

तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिनुभयो । 

तलेजु भवानीलाई भने फूलपातीकै दिन सोमबार हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ । रासस