केशव राज भट्ट
वाशुलिङ (बैतडी), असोज १४ गते । बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित ऐतिहासिक निङ्लाशैनी भगवती मन्दिरमा यस वर्षको महाअष्टमीमा भव्य जात्रा लागेको छ ।
विहानैदेखि दर्शनार्थीको भीड बढ्दै जाँदा मन्दिर वरिपरि आस्था र श्रद्धाको वातावरण छाएको छ । जात्रामा स्थानीयबासी मात्र नभई टाढाटाढा र सीमावर्ती भारतीय क्षेत्रबाट समेत हजारौं भक्तजन देवीको दर्शनका लागि आएका मन्दिरका भण्डारे चक्रबहादुर बोहराले जानकारी दिनुभयो ।
मन्दिर परिसर ढोल–नगारा, शंखध्वनि र देवीको जयघोषले गुन्जायमान बनेको छ । भक्तजनले वैदिक विधिपूर्वक पूजाआजा गरी दुग्ध, फलफूल र पुष्प चढाए भने परम्परानुसार राँगा–बोकाको बलि दिने चलन पनि निरन्तर गरिएको बोहराले बताउनुभयो ।
मन्दिर व्यवस्थापन समितिका अनुसार यो बर्षपनि करिब तीन सयभन्दा बढी राँगा, बोकाको बलि चढाइदैछ ।
इतिहास र आस्थाको केन्द्रस्निङ्लाशैनी भगवतीलाई परापूर्वकालदेखि नै सुदूरपश्चिमको आस्थाकी देवीका रूपमा पूजा गरिँदै आएको छ । मौखिक इतिहासअनुसार यो मन्दिर प्राचीन राजदरबारको संरक्षणमा स्थापना भएको हो ।
महाअष्टमीका दिन यहाँ हुने जात्रालाई ‘धार्मिक, सांस्कृतिक र सामाजिक उत्सव’ का रूपमा लिने गरेको मन्दिरका पुजारी देव दत्त भट्टले बताउनुभयो।
जात्रालाई व्यवस्थित बनाउन यस वर्ष सुरक्षाकर्मी परिचालन गरिएका छन भने मन्दिर परिसरलाई मदिरा निषेध क्षेत्र घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताउनभयो ।
भक्तजनले देवीको दर्शनसहित आ–आफ्नो मनोकामना पूरा होस् भन्ने विश्वासका साथ पूजाआजा र बलि दिएका छन् । गाउँघरमा चहलपहल बढेको छ भने स्थानीय बजारमा पनि भीडभाड देखिएको दसरतचन्द नगरपालिका ०२ का स्थानीय लक्ष्मण बोहराले बताउनुभयो ।
महाअष्टमीको अवसरमा लागेको यो जात्रा बैतडी जिल्लाको धार्मिक आस्था मात्र होइन, सांस्कृतिक पहिचान र सामाजिक एकताको प्रतिकका रूपमा स्थापित हुँदै गएको स्थानीयहरुको भनाइ छ ।