विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज १४ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ मा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ।
भारतको मधुबनी जिल्ला घर भई हाल मायती घरमा पाहुना आएका ३६ वर्षीया लल्तो सदाको सर्पदंशबाट मृत्यु भएको हो । सोमबार राति करिब १२ बजेतिर दाजु श्रवण सदाको घरमा खाना खाइरहेका बेला दुल्लोबाट निस्किएको सर्पले खुट्टामा टोकेपछि उहाँ घाइते हुनु भएको थियो ।
घाइते सदालाई तत्कालै कल्याणपुरस्थित श्री बरखगण सर्पदंश उपचार केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिरहाको लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा मंगलबार बिहान करिब ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिनुभयो ।