गोरखापत्र अनलाइन
हुम्ला, असोज १४ गते । दशैंको अवसरमा हुम्लाको अदानचुली –१ का ६२ घरधुरीलाई खाद्यन्न वितरण गरिएको छ । रेडियो श्रीनगर एफएम हुम्लाले एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र (आइसिडिआरसी) हुम्ला र महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगमा उक्त खाद्यन्न वितरण गरिएको हो ।
गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्ने बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दसैंमा चामल, तेल र सल वितरण गरिएको आयोजक संस्था एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्रका सचिव नवराज महताराले जानकारी दिनुभयो ।
‘महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइसिडिआरसीले गरेको आग्रहलाई स्विकार गरेपछि ६२ घरलाई चामल, तेल र महिलाका लागि सल वितरण गरिएको हो’ रेडियो श्रीनगरका सञ्चालक समितिका अध्यक्ष समेत रहेका महताराले भन्नुभयो, ‘दसैंमा दलित समुदायका लागि खाद्यान्न वितरण कार्यक्रमको आयोजना गरेका हौं ।’
कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रणसिंह दमाईको प्रमुख आतित्थ्यतामा खाद्यान्न वितरण गरिएको हो । बैंकले ७७ वटै जिल्लामा वितरण गर्ने कार्यक्रम भए पनि आयोजक संस्था आइसिडिआरसिका सचिव महताराको पहलमा हुम्लाको अदानचुली –१ का दलित दाजुभाइले खाद्यान्न प्राप्त गर्नु निकै सकरात्मक भएको वडा अध्यक्ष अक महताराले बताउनुभयो ।
खाद्यन्न वितरण कार्यक्रममा अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले खडेरीले रैथाने उत्पादन निकै न्यून भएको अवस्थामा दलित समुदायका दाजुभाइ दिदिबहिनीलाई चामल, तेल र सल वितरण गर्ने कार्य निकै प्रशंसनीय भएको उल्लेख गर्नुभयो ।
रेडियो श्रीनगरका स्टेशन म्यानेजर कालीबहदुर थापाले सञ्चालन गरेको कार्यक्रममा नेकपा (एमाले) का वडा अध्यक्ष रुपचन्द्र थापा, माओवादी केन्द्रका प्रतिनिधि लगायतले कार्यक्रम सकरात्मक भएको बताउनुभयो ।
महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगका प्रतिघरधुरी चामल र खाने तेल वितरण गरिएको कार्यक्रममा एमाले जिल्ला कमिटी हुम्लाका उपसचिव मञ्जु रावलको पहलमा दलित महिलालाई सल समेत वितरण गरिएको आयोजक संस्था एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र हुम्लाले जनाएको छ ।
हरेक बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निश्चित रकम सामाजिक सेवामा लागउनु पर्ने सरकारको नीतिअनुरुप पहिलो चरणमा महालक्ष्मी विकास बैंकले हुम्लाको अदानचुलीका दलित समुदायलाई खाद्यन्न सहयोग गरेको जनाएको छ ।