• १४ असोज २०८२, मङ्गलबार

सप्तरीमा दस दिनसम्म महादेव पूजाईंदै

blog

दसैँमा माटोको महादेवको आकृति बनाएर पुज्दै पुरोहित ।

सुधा देव

भारदह(सप्तरी), असोज १४ गते । सप्तरीसहित मधेसमा घटस्थापनादेखि विजया दशमीसम्म दश दिन महादेव पुजाउने गरेको छ । मधेसमा घर घरमा दश दिनसम्म दुर्गा भगवतीको पूजासँगै दसैँ दिनसम्म माटोको महादेव बनाएर पुरोहित बोलाएर पूजा गराउँदै छन् ।

दुर्गा भगवतीसँगै देवोका देव महादेवको पूजा गर्ने चलन परापूर्वकालदेखि रहेकोले यो प्रथालाई अहिलेसम्म मधेसले निरन्तरता दिएको राजविराज नगरपालिका २ की ८२ वर्षिया सावित्री देवीले बताउनुभयो ।

उहाँले भन्नुभयो, मैले दसैँमा महादेव पूजाएको ५ दशक भयो, पहिले पहिले दशैमा म घर लिपपोत गरेर कुल देवताको पूजा गर्नेतर्फ लाग्थ्ये । केटाकेटीहरू बिहानै उठेर नुहाएर माटो मुछेर महादेव बनाउँथे ।

बिहानै कुलको पुजा गरेपछि पुरोहित आएर महादेवको पूजा गथ्र्यो । त्यहीँ परम्परालाई अहिलेसम्म निरन्तरता दिएको उहाँले बताउँनुभयो ।

पहिले कम्तिमा पनि सुरू घटस्थापनामा दिनमा दुई हजार पाँचसय महादेव बनाइन्थ्यो । दिनप्रतिदिन महादेवको संख्या बढाएर नवमीसम्ममा एघार हजार महादेव बनाएर पुजाइन्थ्यो । अहिले पनि दिनहुँ महादेव पुजाएपनि दुईसय पचास महादेव बनाएर पुजा सुरू गर्छौं । अन्तिम दिनसम्म ११ सय पुग्ने गरेको उहाँले बताउनुभयो ।

अहिले महादेव बनाउने परिवारका सदस्यलाई फूर्सदको अभावमा कसै कसैले महादेव पुजाउन छोडेपनि सक्नेले अनिवार्य रूपमा घरघरमा महादेव पुजाउँने चलन रहेको उहाँले बताउनुभयो ।

सैँमा दुर्गा भगवती, कुलदेवताको अनिवार्य रूपमा विशेष पुजा हुने भएकोले देवोका देव महादेवलाई पनि उच्च सम्मान दिएर चोखो माटोबाट बनाइएको माहदेवको लिंगको आकृतिको विशेष रूपमा पुजा गर्ने चलन रहेको राजविराज २ का पुरोहित शम्भु मिश्रले जानकारी दिनुभयो ।