• १४ असोज २०८२, मङ्गलबार

किसानले बनाए आफ्नो लगानी र श्रमबाट पुल

blog

काठे पुल बनाउँदै स्थानीय ।

अविनाश चौधरी

धनगढी, असोज १४ गते । पुल नहुँदा कृषिउपज भित्र्याउन समस्या भएपछि कैलालीको एक गाउँका किसानले आफ्नै लगानी र श्रमबाट कटैनी नदीमा पुल निर्माण गरेका छन् । 

कैलारी गाउँपालिका –७ भुईयाँफाँटा गाउँका कृषकले आफ्नै लगानीमा काठे पुल बनाएका हुन । किसानबाटै सङ्कलित करिब सात लाख रुपियाँ लगानी गरी पुल निर्माण गरेको जनाइएको छ । 

नदीमा पुल नहुँदा धान भित्र्याउन समस्या भएपछि कुनै पनि सरकारको आर्थिक सहयोगबिना पुल बनाएको गाउँका भलमनसा फिरुराम चौधरीले बताउनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि गाउँकै किसानले एक महिनासम्म श्रम गरेका थिए । 

“पुल नहुँदा हामीलाई धान भित्र्याउन समस्या भएको थियो” चौधरीले थप्नुभयो, “कुनै पनि सरकारले सहयोेग नगरेपछि हामी गरिब जनताले आफ्नै लगानी र श्रमबाट पुल बनाएका छौं ।”

त्यसक्षेत्रमा कटैनी नदीमा यसअघि पनि काठको पुल रहेको थियो । तर पक्की पुल बन्ने भन्दै काठको पुल हटाइएपछि किसानलाई धान भित्र्याउन समस्या भएको थियो । करिब पाँचसय किसान परिवारले पुल निर्माणका लागि श्रमदान गरेको जनाइएको छ । त्यहाँ नयाँ बाटो र पुल निर्माण पालिकाको योजना पनि रहेको कैलारी गाउँपालिकाका पूर्व अध्यक्ष लाजुराम चौधरीले बताउनुभयो । “सबैको लगानी, मिहिनेत र श्रमबाट नयाँ बाटो र पुल बनेको छ” उहाँले भन्नुभयो । 

कृषि बाटोमा पर्ने कटैनी नदीमा पुल नहुँदा स्थानीयले सास्ती भोग्दैआएका छन् । किसानले धेरै समस्या झेल्दै आए पनि कुनै पनि तहको सरकारले पुल निर्माणमा सहयोग नगरेको स्थानीय चन्द्रिकाप्रसाद चौधरीले गुनासो गर्नुभयो । कसैले सहयोग नगरेपछि आफूहरुले आफ्नै लगानी र श्रमदान गरेर पुल बनाएको उहाँको भनाइ छ ।