चन्द्र पन्दाक
ताप्लेजुङ, असोज १४ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) दर्शन गर्ने भक्तजन घटेका छन् । दसैँ पर्वसँगै मूख्य सिजन (मौसम) सुरु भएको र यो मुख्य मौसममै पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या घटेको हो ।
पाथीभरा दर्शन गर्ने मुख्य मौसम दसैँ तिहारको समयलाई लिने गरिन्छ । यो मौसममा पनि दसैँको नवरात्रीको समयलाई निकै महत्व दिएर भक्तजनले पाथीभराको दर्शन गर्ने गर्दछन् । नवरात्रीको समयमा नेपालका विभिन्न जिल्लासहित भारतको सिक्किम, दार्जिलिङ लगायतबाट पाथीभरा दर्शनका लागि उल्लेख्य रुपमा भक्तजन आउने गरेका थिए ।
कुनै वर्ष एकैदिन १५ हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेको तथ्याङ्क रहेकोमा यसवर्ष भने नवरात्रीको समयमा अत्यन्तै न्युन सङ्ख्यामा मात्र भक्तजनले पाथीभराको दर्शन गरिरहेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार दसैँको नवरात्रीयता सोमबारसम्ममा आठ हजार ५०१ जना भक्तजनले मात्र पाथीभराको दर्शन गरेका छन् । पाथीभरा दर्शन गर्ने यो सङ्ख्या अत्यन्त न्युन हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार ।सोमबार एक हजार २५६ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । नवरात्रीयता अर्थात घटस्थापनादेखि हालसम्ममा सबैभन्दा बढी गएको शनिबार दुई हजार २२६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हाङ्बाङले बताउनुभयो ।
त्यस्तै गएको शुक्रबार एक हजार २६७ जना र मङ्गलबार एक हजार १४४ जना भक्तजनले पाथीभरा दर्शन गरेका उहाँले जानकारी दिनुभयो । हालसम्म नवरात्रीको अन्य कुनै दिन पाथीभरा दर्शन गर्ने भक्तजनको सङ्ख्या एक हजार ननाघेको पनि समितिले जनाएको छ ।
मुख्य सिजनमा पनि पाथीभरा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको सरोकारवाला बताउँछन् । भक्तजनको सङ्ख्या घट्नुको कारण थाहा नभए पनि पाथीभरामा निर्माण गर्न सुरु गरिएको केवलकार विवाद, पहिचानवादी आन्दोलनलगायत हुनसक्ने जिल्लावासीले अनुमान लगाएका छन् ।
केवलकार विवादका कारण पाथीभरा क्षेत्रमा झडप र अशान्त परिस्थित सिर्जना भएको साथै मुक्कुमलुङ संरक्षणका नाममा बेला बेलामा हुने आन्दोलनका गतिविधिले असुरक्षित महशुस गरी भक्तजनले चाहेर पनि पाथीभरा आउन नसकेको पाइएको छ । त्रासरहित सहजरुपमा पवित्र धार्मिकस्थल पाथीभराको दर्शन गर्ने वातावरण नबनाएसम्म भक्तजनको आगमन अझ घट्दै जाने जिल्लावासीले आँकलन गर्न थालेका छन् ।