इमानसिं राना
रामपुर (पाल्पा) असोज १४ गते । रामपुर नगरपालिका –८, जरुवापानीमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । विगत ८ वर्षदेखि जरुवापानी क्षेत्रमा वेवारिसे अवस्थामा सार्वजनिक स्थानमा बस्दैआएका अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ कालीगण्डकी करिडोर हुँदै हुँगीबाट बेझाँडतर्फ आउँदैगरेको लु ३१ प ४८६४ नम्बरको मोटरसाइकलले सडकमा हिडिरहेको अवस्थामा उहाँलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते हुनुभएको उहाँलाई उद्धार गरी रामपुर अस्पताल ल्याइएको थियो ।
उपचारको क्रममा आज विहान उहाँको निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिनुभयो । मृतकको शव रामपुर अस्पतालको शवगृहमा राखिएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सूचना जारी गर्दै आफन्त वा चिन्ने व्यक्तिले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । मृतकको हुलिया उचाई ५ फिट ३ इन्च र मंगोलियन अनुहार रहेको प्रहरीले जनाएको छ ।