• १४ असोज २०८२, मङ्गलबार

भिमफेदी कारागारबाट अझै २३४ कैदीबन्दी फरार

blog

भिमफेदी कारागार मकवानपुर । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, असोज १४ गते । देशभर जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनको क्रममा क्षेत्रीय कारागार भिमफेदीको पर्खाल फोडेर ४२० जना कैदीबन्दी भागेका थिए । फरार कैदीमध्येमा हालसम्म १८६ जना कारागारमा फर्किएका छन् । अझै २३४ जना कैदीबन्दी फरार रहेको कारागार कार्यालय भिमफेदी मकवानपुरले जनाएको छ । 

कारागारले सूचना जारी गर्दै फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । कारागार कार्यालय भिमफेदी मकवानपुरको कारागार प्रशासक सुवास पौडेलद्वारा हस्ताक्षरित सूचनामा भिमफेदी कारागारबाट २०८२ भाद्र २५ गते फरार भई फर्किन बाँकी कैदीबन्दीलाई असोज २० गते सोमबारसम्म कारागार फर्की आउन सूचित गएको छ । कारागार प्रशासनले दिएको समयभित्र कारागार फर्की नआए कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुन बमोजिमको थप सजाय हुने उल्लेख छ । 

फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा भनिएको छ । फरार कैदी बन्दीहरूलाई जानकारी गराई खोजी कार्यमा सहयोग गर्नुहुने महानुभावको पहिचान गोप्य राखिने उल्लेख छ । 

हालसम्म फरार रहेका कैदीबन्दीहरु लुकेछिपेको कोही कसलाई जानकारी भएमा जानकारी गराई कैदीबन्दीहरुलाई कारागारमा फर्काउने कार्यमा सहयोग गरिदिनु हुन कैदी बन्दीका परिवार, समुदाय, नागरिक समाज, सञ्चारकर्मी र व्यवसायीलगायत सबैलाई अनुरोध गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, अनुसन्धान अधिकृत, जिल्ला सरकारी वकिलको कार्यालयको अधिकृत सदस्य रहने तथा कारागार प्रशासक सदस्य सचिव रहनेगरी गठन भएको समितिलाई फरार कैदीबन्दीको जानकारी दिन सकिने उल्लेख छ ।