• १४ असोज २०८२, मङ्गलबार

वडाबाटै सेवा प्रदान गर्न ज्ञापनपत्र

blog

वडा कार्यालयबाटै सेवा प्रवाहका लागि नगरपालिकामा ज्ञापनपत्र बुझाइँदै ।

सुर्खेत समाचारदाता

सुर्खेत, असोज १४ गते । वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका वडा कार्यालय गत भदौ २४ गते जेनजी समूहको आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि नगरपालिकाले सबै वडाको सेवा एउटै कोठाबाट दिन सुरु गरेपछि वडा नं. ३ का जनप्रतिनिधिले सेवाग्राहीलाई थप सकस भएको भन्दै वडा कार्यालयबाटै सेवा प्रदान गर्न ज्ञापनपत्र बुझाएका छन् । नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाललाई वडाका टाढाबाट नगरपालिकामा आएर सेवा लिँदा निकै झन्झट हुने, खर्चिलो हुने भएकाले वडा कार्यालयबाटै सेवा दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन् । 

नगरपालिकाले सवै वडा कार्यालयमा क्षति भएकाले तत्काल वडा कार्यालयबाट सेवा प्रदान गर्न नसकिने भन्दै गत आइतबारदेखि जिल्ला समन्वय समितिको एउटा कोठाबाट १२ वटै वडाको सेवा एकै ठाउँबाट दिन सुरु गरेको थियो । नगरपालिकाको उक्त निर्णय सेवाग्राहीका लागि अपायक पर्ने र बढी सास्ती भोग्नुपर्ने भएकाले वडा कार्यालयको हालको अवस्था जे जस्तो भए पनि सोही वडा कार्यालयबाटै प्रदान गर्न ज्ञापनपत्रमा उल्लेख छ । 

ज्ञापनपत्रमा वडा नं. १ को सोलीघोप्टे, वडा नं. २ को फलाँटे, भुरेली, गुप्तीपुर, वडा नं. ९ को अलायाचौर, चाँदनीचोक, वडा नं. १० को बामेखोला, सानो सुर्खेत, वडा नं. ११ को झुप्राखोला, वडा नं. १२ को खोरियालगायत दर्जनौँ बस्तीका बासिन्दा नगरपालिकामा सेवा लिन आउँदा मानसिक, आर्थिक र शारीरिक रूपमा निकै कठिनाइ भोग्नुपर्ने जनाइएको छ । साथै आआफ्नै वडा कार्यालयबाटै दैनिक प्रशासनिक सेवा प्रदान गरी सवै वडावासीलाई सहजता प्रदान गर्न आग्रह गरिएको छ । यता नगरपालिकाले वीरेन्द्रनगरका कुल १६ वटा वडामध्ये १२ वटा वडा कार्यालय आन्दोलनका व्रmममा पूर्ण ध्वस्त पारिएकाले अर्को व्यवस्था नभएसम्म एकीकृत सेवा प्रदान गर्न जिल्ला समन्वय समितिको एउटा कोठाबाट सेवा सुरु गर्नु परेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले कठिनाइ र दुःखद भए पनि एकीकृत सेवा प्रदान गर्नु बाध्यता भएको जनाउनुभयो । सेवा नरोकियोस् भनेर वडा कार्यालय मर्मतसम्भार नहुने बेलासम्म एकै ठाउँबाट सेवा प्रदान थालिएको उहाँको भनाइ छ । 

यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गत सोमबार वडाअध्यक्षसँग छलफल गर्दै वडा कार्यालयबाटै सेवा प्रदान गर्न सुझाव दिनुभएको थियो । उहाँले एकै ठाउँबाट सेवा प्रदान गर्न सेवाग्राहीलाई समस्या पर्ने हुँदा वडाको जस्तो अवस्था भए पनि वडाबाटै सेवा प्रदान गर्न आग्रह गर्नुभएको थियो ।