अर्जुन काफ्ले
स्याङ्जा, असोज १४ गते । कुुनै समय कुष्ठरोगी बस्ने ठाउँ भनेर स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुुङ्गा टुुनिबोटलाई चिनिने गरिन्थ्यो । त्यहाँ जाँदा कुष्ठारोग सर्छ भन्दै स्थानीय जान डराउँथे । टुनिबोट बाइसे चौबिसे राज्यका बेलामा नुुवाकोटका राजाले पाल्पा आक्रमणका लागि १९५२ बाट हातहतियार राख्न प्रयोग गरिएको ठाउँसमेत हो । तत्कालीन श्री ३ खड्ग शमशेरले १९९७ मा नेपालभरिका ४२२ कुुष्ठरोगीलाई उपचार गर्न यसै ठाउँको प्रयोग गर्नुभएको थियो । ४९ वर्ष कुष्ठरोगी बसेको टुनिबोट बिरामीको सङ्ख्या घट्दै गएपछि ८२ रोगीलाई कुुष्ठरोग निवारण सङ्घले २०४६ सालमा पोखरा सारेको थियो ।
लामो समय कुष्ठरोगी बसेको मालुुङ्गा टुनिबोटमा सर्वसाधारणका स्वास्थ्य सुविधाका लागि निर्माण थालिएको १५ शøयाको स्वास्थ्य केन्द्र अलपत्र जस्तै बनेको छ । कुष्ठरोगी पोखरा पुनस्र्थापना भएसँगै कुष्ठरोग निवारण सङ्घसँग १९ रोपनी नौ आना जग्गा भाडामा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बनाइएको थियो ।
लामो समय कुष्ठरोगी बसेका कारण त्रासमा रहने टुनिबोटको प्राथमिक स्वास्थ्य केन्द्रले मात्र स्थानीयलाई उपचार पर्याप्त नभएपछि यहाँ सरकारले अस्पताल निर्माण अगाडि बढाइएको थियो । कुष्ठरोगीलाई पोखरा सारेको चार वर्षमा प्राथमिक स्वास्थ्य केन्द्र बनाएर डाक्टरसहितको सेवा दिन थालिएकोमा अस्पतालले जग्गा आफ्नो नाममा बनाएर २०७८ जेठ ३० गते सिनर्जी शङ्खदेवी निर्माण सेवा काठमाडौँले १५ बेडको अस्ताल निर्माण थालेको हो ।
दुई वर्षमा सक्ने गरेर गल्याङ नगरपालिकासँग सम्झौता गरेको सिनर्जीले चार वर्षमा मात्र ५० प्रतिशत काम सकेको हो । भवनको संरचना निर्माण गरेर प्लास्टर गरे पनि अन्य काम भने गर्न बाँकी रहेको छ । निर्माण कम्पनीले अस्पताल भ्याटसहित ११ करोड ५१ लाख १५ हजार २३२ रुपियाँ ९० पैसामा सम्झौता गरेकोमा चार वर्षमा चार करोड ३७ लाख (३७ प्रतिशत) मात्र आर्थिक प्रगति गरेको छ । अस्पतालको म्याद सकिएर दुई पटक म्याद थप्दासमेत आधा काम सकिएको बताउँदै इन्जिनियर सुजेन्द्र थापाले आउने चैत ३१ गतेसम्म म्याथ थप भएको बताउनुभयो । अस्पताल निर्माण अब ढिलाइ भएमा सार्वजनिक खरिद ऐन् २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ कारबाही हुने थापाले बताउनुभयो ।
स्वास्थ्य सुविधाका लागि अस्पताल निर्माण हुन थालेपछि हर्षित बनेका स्थानीय बासिन्दा अस्पताल निर्माणमा ढिलासुस्ती हुने थालेपछि चिन्तित बनेको वडाध्यक्ष मणिप्रसाद बस्यालले बताउनुभयो ।