शारदा समाचारदाता
शारदा (सल्यान), असोज १४ गते । सल्यानका चार स्थानीय तह जलवायु परिवर्तन अनुकूलन परियोजनाका लागि छनोट भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना सञ्चालनका लागि सल्यानका चार स्थानीय तह छनोट भएका हुन् ।
मन्त्रालय अन्तर्गत परियोजना सुपरीवेक्षण समितिको यही असोज १० गतेको निर्णय अनुसार जिल्लाका कालीमाटी, त्रिवेणी, कपुरकोट गाउँपालिका र शारदा नगरपालिका छनोटमा परेका छन् । परियोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम मूल्याङ्कनपश्चात् कर्णाली प्रदेशका १९ र सुदूरपश्चिम प्रदेशका आठ स्थानीय तह गरेर जम्मा २७ स्थानीय तह छनोट भएका र यी स्थानीय तहमा जलवायु परिवर्तन स्थानीय अनुकूल परियोजना सञ्चालन हुने मन्त्रालयको आइतबार प्रकाशित सूचनामा उल्लेख छ ।
कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीले परियोजना लागु भएपछि अनुकूलन कार्ययोजना गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार र प्रविधि सबैलाई जलवायु उत्थानशील बनाउन सकिने अपेक्षा व्यक्त गर्नुभयो । विपत् जोखिम न्यूनीकरण र अनुकूलन अभ्यासमा स्थानीय स्रोत, क्षमता र ज्ञानलाई प्राथमिकता दिइने उहाँको भनाइ छ । जलवायु परिवर्तनका कारण विभिन्न समस्या आइपरेको परिस्थितिमा विभिन्न उपाय अवलम्बन गरी जीवनयापन गर्ने क्षमतामा अभिवृद्धिका लागि पालिकामा अनुकूलनका क्रियाकलाप सञ्चालन हुने छन् ।