• १४ असोज २०८२, मङ्गलबार

तनहुँ जलविद्युत आयोजनाः दसैं बिदामा काम जारी

blog

तनहुँ जलविद्युत आयोजनाको कार्यालय । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज १४ गते । तनहुँको ऋषिङ गाउँपालिका –१ मा निर्माणाधीन जलविद्युत आयोजनाको काम दसैंको चहलपहलबिच पनि निरन्तर जारी छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार, निर्धारित समयमा काम सम्पन्न गर्न सहयोग गर्ने  उद्देश्यले कामलाई निरन्तरता दिइएको हो ।

अन्य समयको तुलनामा दसैंमा कामदार केही कम भए पनि काम प्रभावित छैन । भण्डारीले भन्नुभयो, “कतिपय कामदारलाई दसैं बिदा दिइएको छ, योजनाको काम भने निरन्तर भइरहेको छ । निर्धारित मितिमा काम सम्पन्न गर्न निरन्तरता आवश्यक छ ।” 

भण्डारीका अनुसार २५० जना कर्मचारीले काम गरिरहेका छन् । ४० जना विदेशी कामदारले दसैंमा पनि काम गरिरहेका छन् । तीन भागमध्ये एक भाग कर्मचारीले काम गरिरहेका छन् ।

आयोजनाको समग्र प्रगति हाल ६८.२ प्रतिशत पुगेको छ । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँधलगायत संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । यसअन्तर्गत मुख्य बाँध निर्माणका लागि डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग खन्ने, स्लोप निर्माण र प्रवेश सडक स्तरोन्नतिलगायतको काम भइरहेको छ । 

बाँधको वर्तमान उचाइ २० मिटर पुगेको छ । दोस्रो प्याकेजमा सुरुङ, विद्युत् गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणको आपूर्ति, जडान र सञ्चालन सिनो हाइड्रो, चीनले गर्दैछ । तेस्रो प्याकेज अन्तर्गत दमौलीदेखि चितवनको भरतपुरसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण केइसी, भारतले गरिरहेको छ ।

१४० मेगावाट क्षमता रहेको यस आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । वित्तीय व्यवस्थापनअनुसार एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी आयोजना सञ्चालित छ ।