• १४ असोज २०८२, मङ्गलबार

आर्यतारा शाक्य नयाँ कुमारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते  । आर्यतारा शाक्यलाई नेपालकी जीवित देवी श्रीकुमारी पदमा नियुक्त गरी मङ्गलबार दसँैको महाअष्टमीका दिन कुमारीघरमा प्रतिस्थापन गरिने भएको छ । 

आठ वर्षपछि काठमाडौँमा जीवित देवी ‘कुमारी’ परिवर्तन गरिएको हो । कुमारीलाई जीवित देवीका रूपमा पुजिन्छ । हालकी कुमारी तृष्णा शाक्यको कुमारी बस्ने औसत उमेर पूरा भएको छ । तृष्णा २०७४ सालमा कुमारीका रूपमा कुमारीघरमा प्रवेश गर्नुभएको हो । उहाँको उमेर १२ वर्ष पूरा भएकाले दसैँको महाअष्टमीका दिन कुमारीघरमा नयाँ कुमारी भिœयाइने भएको गुठी संस्थान, प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–१७ निवासी अनन्त शाक्य र प्रतिस्था शाक्यकी सुपुत्री आर्यतारा शाक्यलाई गुठी संस्थानको मिति २०८२ असोज ९ गतेको निर्णय अनुसार श्रीकुमारी मातामा नियुक्त गरिएको हो । 

गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरले प्रतिस्थापन प्रव्रिmयाबारे जानकारी दिँदै नवनियुक्त कुमारीलाई परम्परागत विधि अनुसार जिम्मेवारी हस्तान्तरण सम्पन्न भइसकेको र सम्बन्धित सबैलाई यसबारे आधिकारिक रूपमा सूचित गरिएको बताउनुभयो । 

नेपालमा ‘कुमारी’ प्रथा एक जीवित देवीका रूपमा मानिन्छ, जसलाई ‘तलेजु भवानी’ को अवतारका रूपमा पूजा गरिन्छ । विशेष गरी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा बस्ने कुमारीलाई राजकीय कुमारी मानिन्छ । दसैँ, इन्द्रजात्रालगायतका महìवपूर्ण चाडपर्वमा नवनियुक्त कुमारीको उपस्थितिलाई विशेष महìव दिइन्छ । कुँवरका अनुसार कुमारी चयन प्रव्रिmया अत्यन्तै परम्परागत मानक अनुसार हुने गर्छ । उमेर, स्वास्थ्य, पारिवारिक पृष्ठभूमि, तथा विशेष शारीरिक–आध्यात्मिक लक्षणका आधारमा गुठी संस्थान र सम्बन्धित जातीय समुदायका प्रतिनिधिहरूको सहभागितामा नयाँ कुमारी चयन गरिन्छ ।

नवनियुक्त जीवित देवी आर्यतारा शाक्य अब वसन्तपुरस्थित कुमारीघरमै बस्नुहुने छ । कुमारीलाई धार्मिक कार्य, पूजाआजा र राज्यका प्रमुख चाडपर्वमा विधिपूर्वक उपस्थित गराइने परम्परा छ । वसन्तपुरस्थित कुमारीघरका प्रतिनिधि तथा इन्द्रजात्रा संरक्षण समितिका अध्यक्ष गौतम शाक्यका अनुसार तृष्णा शाक्यलाई बाजागाजाका साथ बिदाइ गरी आर्यतारा शाक्यलाई प्रतिस्थापन गरिने छ ।