• १४ असोज २०८२, मङ्गलबार

कालिका मन्दिरमा घटे आन्तरिक धार्मिक पर्यटक

blog

बागलुङ कालिका भवगतीको मन्दिर । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, असोज १४ गते । धार्मिक गन्तव्यको रुपमा नाम कमाएको बागलुङ कालिका मन्दिरमा यतिबेला चहलपहल कम छ । भक्तजनहरु पूजाका लागि आइरहेका छन् । तर, देशको राजनीतिक परिस्थितिले सोचेझैं भक्तजन आएका छैनन् । अघिल्ला वर्षको तुलनामा मन्दिरमा भक्तजन र पर्यटक आधा घटेको स्थानीयको भनाइ छ । 

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको तथ्यांकमा समेत अघिल्ला वर्षको तुलनामा भक्तजनको संख्या ५० प्रतिशतले घटेको छ । गुठीका अध्यक्ष कुमार खड्काले भक्तजनको आगमन ५० प्रतिशत घटेको स्पष्टै देख्न सकिने बताउनुभयो ।

‘‘दुई तीन लाइन गरेर पूजा व्यवस्थापन गर्न हम्मे पर्ने मन्दिरमा अहिले सहजै दर्शन गर्न सकिने अवस्था छ’’ खड्काले भन्नुभयो, ‘‘देशको राजनीतिक परिस्थितिको असर मन्दिरमा पनि देखा परेको छ ।’’ भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनपछि देशको अवस्था बिषम बनेको उहाँको भनाइ छ ।

एक सातादेखि अविरल वर्षाले देशका मुख्य राजमार्ग समेत केही दिन अवरुद्ध थियो । यात्रामा निस्केका सयौं यात्री अलपत्र पर्दा राजधानी काठमाडौंसहित चितवन, बुटवल लगायतका स्थानबाट आउने भक्तजन र चाडपर्वमा घुम्न निस्कने पर्यटक समेत नआाएपछि मन्दिरमा पनि सोचेजस्तो भिड नभएको हो । 

यो मौसममा मुक्तिनाथ, ढोरपाटन र रारा जाने पर्यटक समेत हिंडेका छैनन् । सडक र राजनीतिक परिस्थितिले अधिकांशले भ्रमण रद्द गरेका छन् ।

‘‘ढोरपाटनको यात्रा गर्ने, बागलुङ कालिका पनि दर्शन गर्ने योजना राजनीतिक घटनाक्रमले अवरुद्व भयो’’ काठमाडौंका दिनेश रेग्मीले भन्नुभयो, ‘‘वर्षात्ले यात्रामा निस्कन कठिनभयो । अहिलेको भ्रमणलाई हिउँदका लागि सारियो ।’’

बागलुङ कालिका मन्दिरमा आउने भक्तजनको संख्या कम भएसँगै बागलुङ बजारको व्यवसायमा समेत असर परेको छ । ठेलमठेल मानिस देखिने बागलुङ बजारमा अहिले कमी देखिएको व्यापारीहरु बताउनुहुन्छ । ‘‘बजारभर मानिस देखिन्थे, सबै पसलमा व्यवसाय गर्ने फुर्सद हुन्थेन’’ बागलुङ नगरपालिका वडा २ का राजु पौडेलले भन्नुभयो, ‘अहिले पसलमा को छिर्ला भनेर कुर्नुपर्ने अवस्था छ ।’’ 

अधिकांश शहर पसेकाहरु दसैमा समेत गाउँ नआउँदा बाटोघाटो सफाइ गर्ने काम पनि नभएको बागलुङ नगरपालिका वडा १० भकुण्डेका अध्यक्ष तिलबहादुर थापाले अनुभव सुनाउनुभयो । ‘‘पहिला धेरै युवा जुटेर भत्के–बिग्रेका सडक र गोरेटा बनाउनेहरु छैनन्, बरु भत्केको सडक बनाउन बजेट आश गर्ने बढेका छन् ।’’

गत असार साउनमा भरिभराउ भएको ढोरपाटन समेत अहिले सुनसानजस्तै छ । मौसम सफा भएपछि घुम्न निस्कनेहरु यो वर्ष निस्केका छैनन् । रारा तालको यात्रामा निस्कने पछिल्लो समय बागलुङलाई समेत ट्रान्जिट बनाउन थालेका छन् । तर राजनीतिक र वर्षातले यात्रामा आउनेहरु नभएपछि त्यस्ता पर्यटक नदेखिएको होटल संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारीले दुखेसो गर्नुभयो ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन शाक्यले देशको बिषम परिस्थितिले व्यवसाय चौपट भएको बताउनुभयो । ‘‘कुनै घटनाक्रमले राजनीतिक परिवर्तन भए पनि पर्यटकहरु हिंड्नै नसक्ने अवस्था आउन हुँदैन’’ शाक्यले भन्नुभयो ।