सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, असोज १४ गते । दसैँ लागेसँगै सिन्धुपाल्चोकका ग्रामीण सडक मर्मतसम्भार गर्न सुरु गरिएको छ । स्थानीय सरकार र विभिन्न क्लबले ग्रामीण सडक मर्मत गर्न थालेका छन् । अभिप्रेरणा युवा क्लब नेतृत्वमा श्रमदानमार्फत बलेफी गाउँपालिका–८ अन्तर्गत लामोसाँघु–टोप्काबसेरी सडक मर्मत गरिएको छ । क्लबका सदस्य रविन सुनारले चाडपर्वमा गाउँबस्तीमा पुग्न सहज होस् भनेर श्रमदानमार्फत सडक मर्मतसम्भार गरिएको जानकारी दिनुभयो । राजधानी र अन्यत्रबाट गाउँमा दसैँ मनाउन आउनेको चहलपहल बढेसँगै सडक मर्मत हुन थालेका हुन् ।
यस वर्षको बर्सातका कारण बाढीपहिरोले अधिकांश सडक भत्किएका छन् । सिन्धुपाल्चोकमा २५ हजार किलोमिटर सडक सञ्जाल छ । त्यसमा कालोपत्रे दुई सय किलोमिटर, ग्राभेल ५० किलोमिटर र बाँकी सबै कच्ची सडक छन् । सबै प्रकारका सडकमा बाढीपहिरोले यातायातका साधान सञ्चालन गर्न जोखिमपूर्ण बनेको छ ।