• १४ असोज २०८२, मङ्गलबार

स्वस्थ जीवनको आधार

blog

चिन्ता ! चिन्ता ! चिन्ता ! चिन्ताले चितामा पु-याउँछ भन्ने लोकोक्ति अनुभव र भोगाइबाट निर्माण भएको भनाइ हो । तुलनात्मक रूपमा अहिले नेपाली समाज तनावग्रस्त बन्दै गरेको अवस्था छ । बेरोजगारी, आर्थिक कठिनाइ, पारिवारिक कलह, सम्बन्धमा असमझदारी, कार्यस्थलमा दबाब, प्रतिस्पर्धा, असुरक्षित भविष्य, स्वास्थ्य समस्या, अविश्वास, रिस, डाहा, ईष्र्या, बदलाको भावना जस्ता व्यक्तिगत स्वभाव जस्ता कुराले व्यक्ति प्रत्यक्ष वा परोक्ष रूपमा तनावमा बाँच्न बाध्य भएको अवस्था छ । तनावकै कारण आत्महत्याका घटना बढ्दै गएका छन् । मानसिक रोगीको सङ्ख्यामा वृद्धि हुँदै गएको चिकित्सकको भनाइ छ । यस सन्दर्भमा स्वस्थ जीवनयापन गर्नका लागि हरेक मानिसले तनाव व्यवस्थापनमा ध्यान दिन अत्यावश्यक ठानिन्छ । 

जीवन भोगाइको मुख्य आधार मानिसको सोचाइ हो । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भनेझैँ सकारात्मक सोचाइले जीवनमा ऊर्जा मिल्छ । गौतम बुद्धले तिमी जे सोच्छौ, त्यही बन्छौ भनेझैँ सकारात्मक सोचाइले शान्ति र सफलताको बाटो लिन्छ भने नकारात्मक सोचबाट निर्देशित हँुँदा अनेक प्रकारका तनाव उत्पन्न हुन्छन् । अहिले हरेक व्यक्ति पैसाको पछाडि दौडिरहेको छ । समाजमा नैतिक आचरण खस्कँदो छ । मपाईंत्वको भावना बढ्दो छ । तँभन्दा म के कमको आडम्बर चुलिँदो छ । बदला लिने भावनाका कारण हत्या, हिंसा, झैझगडा, असमझदारी जस्ता कार्य व्याप्त छन् । समाजमा नैतिकता, इमानदारी, सद्विचार, सद्भाव वा सदाचार जस्ता मानवीय गुण कमजोर हुँदा अनेक प्रकारका समस्या सिर्जना भएका छन् । 

त्यसो त तनावमा बाँच्न कोही कसैलाई पनि इच्छा हुँदैन । तथापि अनेक प्रकारका सुर्तामा मानिस फँसिरहेको हुन्छ । दिनपछि रात र रातपछि दिन भए जस्तै दुःखपछि सुख पनि आउँछ । त्यसैले त दुःखमा नआत्तिनु र सुखमा नमात्तिनु भन्ने गरिन्छ । लड्नु, उठ्नु, धुलो टकटक्याउनु र फेरि सङ्घर्ष गर्नु नै जीवन जिउने कला हो । जीवनमा आइपर्ने तनाव अल्पकालीन रूपमा बुझ्नु पर्छ । तनावकै कारण सुन्दर जीवनको नोक्सान गर्ने कर्म गर्नुहुँदैन । बरु तनाव व्यवस्थापनका विकल्प खोज्नु पर्छ । यसो गर्दा एक्लो प्रयासले समस्या समाधान हुन नसक्ने अवस्था आइपरे अरूको सहारा लिनु पर्छ । 

मानव सभ्यता विकासको अध्ययनले मानिसको जीवन एउटै सिधा रेखामा चल्दैन । इतिहासमा घटित विश्वयुद्ध, जातीय तथा धार्मिक दङ्गा, सामाजिक द्वन्द्वलगायतका घटनाले पनि तनावरहित समाज नहुने कुराको पुष्टि गर्छन् । कोही पनि मानिस तनावको खोजीमा हिँडेको त हुँदैन, परन्तु तनाव निम्तिन्छन् । जीवनमा नचाहेका उतारचढाव आउने गर्छन् । यी उतारचढावबाट विचलित नभई समस्या समाधानका उपाय खोजी गर्नु नै तनाव व्यवस्थापनको मार्ग हो । जसरी कालीगण्डकीको ढुङ्गा लामो समयसम्म बगरमा ठोक्किएर, रगडिएर, किनारामा पछारिएर अन्त्यमा पूजनीय शिला बन्छ, त्यसै गरी जीवनमा पछारिनु, लछारिनु, ठोक्किनु र तनाव व्यवस्थापन गर्नु भनेको सफलता प्राप्तको मार्ग हो । 

आजको आधुनिक जीवनशैलीमा हरेक उमेर, वर्ग वा पेसाका मानिस तनावमुक्त जीवन असम्भवप्रायः भइसकेको छ । त्यसो त लक्ष्य प्राप्त गर्न अलिकति तनावले ऊर्जाको काम गर्छ, भनिन्छ । तथापि जब मानिस अत्यधिक तनावबाट गुज्रन बाध्य हुन्छ, तब ऊ विभिन्न प्रकारका मानसिक विचलन तथा रोगको सिकार हुन पुग्छ । तनावकै कारण चिन्ता, असन्तुष्टि, अनिद्रा, रक्तचाप, मधुमेह, हृदयाघात, डिप्रेसन, मानसिक असन्तुलन जस्ता समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् । यस सन्दर्भमा स्वस्थ जीवनका लागि तनाव व्यवस्थापन अनिवार्य सर्त भएको छ । 

हरेक मानिस सुख, सुविधा र आनन्दको जीवन जिउन चाहन्छ । सुविधासम्पन्न जीवन जिउने इच्छाले निर्देशित हुँदा मानिसले धन कमाउन जस्तोसुकै काम गर्न पनि तयार हुने प्रवृत्ति बढ्दो छ । समाजमा भ्रष्टाचार, अनैतिक कर्म, कालो बजारी, तस्करी, ठगी, चोरीचकारी, बिचौलिया जस्ता कुकर्म व्याप्त छन् । परिश्रमबिनै धनी हुने मनसायले गरिने कुनै पनि कार्यले मानिसलाई सुविधा त दिन सक्ला, परन्तु आनन्द दिँदैन । अनैतिक कार्यबाट आर्जन गरेको धनले तनाव निम्त्याउँछ । बदनाम गराउँछ । सामाजिक प्रतिष्ठा गुमाउँछ । 

त्यसो त धनबिनाको जीवन कष्टकर हुन्छ । सुविधासम्पन्न जीवनयापन गर्न धनको महìव नभएको होइन । छ । पैसा भनेपछि महादेवका पनि तीन नेत्र भन्ने लोकोक्तिले पनि पैसाको महìव दर्शाउँछ । परन्तु लोभी मनको कुनै सीमा हुँदैन । इमानदारीसाथ मेहनत गर्ने र आफ्नो आम्दानीमा सन्तोष गर्ने बानी विकास गर्नु नै तनावरहित जीवन जिउने सही मार्ग हो । परिश्रम गरेर कमाउनु महान्ता हो । मेहनतको फल मिठो हुन्छ । यसको आनन्द र इज्जत बेग्लै छ । तथापि आज मानिसले पैसाका लागि साम, दाम, दण्ड, भेदको नीति प्रयोग गरेको देखिन्छ । धनका लागि नातागोता, इष्टमित्र, साथीभाइ, बन्धुबान्धव, आमाबुवा, दिदीबहिनी, छरछिमेकको सम्बन्ध बिग्रिएका छन् । कमाइको सम्बन्ध धन कमाउनु मात्र होइन, समाजमा इज्जत, प्रतिष्ठा, संस्कार सुनाम, प्रेम अनि सम्बन्ध पनि कमाउनु हो भन्ने कुरा ख्याल नगर्दा मानिस अनेक प्रकारमा तनावको भुमरीमा परेको देखिन्छ । 

अहिले बेरोजगारी ठुलो समस्या छ । ठुलो सङ्ख्यामा युवापुस्ता अन्तर्राष्ट्रिय श्रम बजारमा गएका छन् । विदेश नगएका र जानका लागि पाइपलाइनमा बसेका शिक्षित युवा पुस्ताको रोजाइ सहर बजार भएको छ । सहरको भिडभाड धेरै मानिसबिचमा हुने एक्लोपन, बेरोजगारी, असुरक्षा, आर्थिक कठिनाइ, बढ्दो रहर, सम्बन्धमा चिसोपन जस्ता कारणले युवापुस्ता तनावको भुमरीमा परिरहेको देखिन्छ । यसै गरी क्षणिक रमाइलोका लागि मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । लागुपदार्थ दुव्र्यसनीले निम्त्याउने समस्या विकराल बन्दै गएको अवस्था छ ।

हाम्रो समाजमा जनस्वास्थ्य शिक्षा कमी छ । समाजको ठुलो जनसङ्ख्याले स्वास्थ्य नै धन हो भन्ने ज्ञानबाट प्रशिक्षित भएको पाइँदैन । जनस्वास्थ्य शिक्षा कमीका कारण फास्टफुड प्रयोगकर्ता धेरै छन् । बजारमा उत्पादन भएका खानेकुराको स्वादका अनुरागी धेरै छन् । जङ्कफुडको लत लागेकामा अस्वाभाविक मोटोपन, रक्तचाप, मधुमेह, अनिद्रा जस्ता समस्या बढ्दै गएको चिकित्सकको कथन छ । यस कोणबाट हेर्दा राम्रो खानपानबाट सिर्जना हुने समस्याबाट बँच्नका लागि स्वस्थ खानेकुरा मात्र सेवन गर्ने बानी विकास गर्नु पर्छ । यसो गर्न सकेमा स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुन नदिने उपाय हुन सक्छ । 

तनाव व्यवस्थापन स्वस्थ जीवनको आधार हो । तनाव व्यवस्थापनका उपाय अवलम्बन नगरी स्वस्थ जीवन जिउन सम्भव हुँदैन । स्वस्थ जीवनका लागि सकारात्मक सोच विकास गर्नु पर्छ । सोच अनुसार व्यवहार गर्नु पर्छ । गीत, सङ्गीत सुन्ने, रुचि अनुरूपका पुस्तक अध्ययन गर्ने बानी विकासले पनि तनाव व्यवस्थापनमा सहयोग गर्छ । शारीरिक व्यायाम, योग, ध्यान, खेलकुद, सन्तुलित भोजन, सामाजिक सम्पर्क, परिवार, समाज तथा कार्यक्षेत्रमा सकारात्मक वातावरण निर्माण, आपसी संवाद, अनुभव र भावना आदानप्रदान जस्ता बानी व्यवहार विकास गर्नाले तनाव व्यवस्थापन गर्न सकिन्छ ।