• १४ असोज २०८२, मङ्गलबार

मङ्गल होस् बडादसैँ

blog

नेपालीको सबभन्दा ठुलो चाड बडादसैँ घरआँगनमा आएको छ । आज महाअष्टमी पर्व मनाइँदै छ । हिजो सप्तमीका दिन फूलपाती भिœयाउने काम गरियो । सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ ग-यो । भोलि बुधबार महानवमी र पर्सि बिहीबार बडादसैँ अर्थात् विजयादशमी मनाउने तयारी गरिँदै  छ । देशविदेशका नेपाली दसैँ मनाउन आआफ्ना घर फर्कंदै छन् । घर आउन सम्भव नभएका नेपालीले यथास्थानमा दसैँ मनाउँदै छन् । दसैँले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउँछ । यस अवसरमा अर्बौंको व्यापार हुन्छ । मासुको धेरै खपत हुन्छ । घिउतेल, मरमसला, चामल, पिठोदेखि नयाँ लत्ताकपडाको समेत ठुलो कारोबार यसै अवसरमा हुन्छ । बस तथा हवाई सेवाका लागि कमाउने राम्रो अवसर पनि यसले जुटाउँछ । दसैँ वा बडादसैँलाई दसहरा, विजयादशमी, नौरथा, नवरात्रि, आयुध–पूजा आदि नामले पनि चिनिन्छ । राष्ट्रिय चाड दसैँ हिन्दु धर्मावलम्बीले असोज महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नौरथाभर) शक्तिको आराधना गरी १० औँ दिन बिहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनका हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा मनाउने गर्छन् । नेपालका केही जिल्लामा दशमीका दिन मात्र टीका–प्रसाद ग्रहण गरिन्छ भने धेरै जिल्लामा पूर्णिमासम्म टीका–प्रसाद ग्रहण गरी दसैँ मनाउने चलन छ ।  असोज शुक्ल प्रतिपदाका दिन घटस्थापनामा जमरा राखी नवमीसम्म नौरथा विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा गरिन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रि गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधना गरिन्छ ।

दसैँका दिन मान्यजनको हातबाट टिका–प्रसाद ग्रहण गर्दै पुरुषलाई यसरी आशीर्वाद दिने गरिन्छ– 

आयु द्रोणसुते श्रीयो दसरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दु-योधने ।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।। 

यसको अर्थ हुन्छ– द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तिमीलाई प्राप्त होस् भन्ने हुन्छ । त्यसै गरी महिलालाई आशीर्वचन दिँदा यसरी मन्त्र पढिन्छ– 

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते ।

जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि

जय सर्वगते देवि कालरात्रि नमो स्तुते । यसको अर्थ हुन्छ– ओम जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा, क्षमा, शिव, धात्री, स्वाहा, स्वाधा, म तिमीलाई नमन गर्दछु । हे देवी चामुण्डा तिम्रो जय होस्, तिम्रो जय होस्, प्राणीको दुःख नाश गर्ने होस् । जय सर्वगते देवी कालरात्रिमा म तिमीलाई नमन गर्दछु । 

विजयादशमीको पावन दिनमा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ । असोज महिनाको शुक्लपक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । यसलाई असत्यमाथि सत्यको विजयका रूपमा लिइन्छ । यसकारण यस दशमीलाई विजयादशमी भनिएको हो । आफ्ना नाताकुटुम्ब, ठुलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने; नयाँ नयाँ कपडा लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने/ख्वाउने; घरआँगन, बाटोघाटो, गाउँबस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । बडादसैँले  काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ । शक्तिवादका अनुयायीका लागि देवी दुर्गाको विजयको प्रतिनिधित्व गर्दछ । हिन्दु धर्मशास्त्रमा महिषासुर दानवले देवलोकमा आतङ्क मच्चाएका थिए । देवी दुर्गाले राक्षसहरूलाई मारेकी थिइन् । दसैँको पहिलो नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारबिच भएको युद्धको प्रतीक हो । दसौँ दिन त्यो दिन हो जब दुर्गाले अन्ततः महिषासुरलाई पराजित गरेकी थिइन् । त्यस्तै यो चाड रावणमाथि रामको विजयको प्रतीक पनि हो; जुन रामायणमा वर्णन गरिएको छ । यो पर्वले दानवी प्रवृत्ति अन्त्य गर्दै मुलुकमा सत्य, शान्ति र समृद्धिको प्रवर्धन गर्न सकोस् । सम्पूर्ण नेपालीमा विजयादशमीको हार्दिक शुभकामना !