• १४ असोज २०८२, मङ्गलबार

साधनाको प्रतीक विजयादशमी

blog

विजयादशमी असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दुराचारमाथि सदाचारको, तमोगुणमाथि दैवीगुणको, दुष्टतामाथि सृष्टिको, भोगमाथि योगको, र असुरत्वमाथि देवत्वको विजयको उत्सव हो । नेपाली संस्कृतिमा पर्वहरूको अनेकौँ मनमोहक शृङ्खलाका पुष्पहरू गुथिएको अनुभव र अनुभूति जोकोहीलाई हुन सक्छ । छ पनि त्यस्तै, प्रत्येक पर्व कुनै न कुनै रूपमा जीवनोपयोगी सन्देशहरूको सुवास लिएर आउँछ । मानिसहरूले पर्वलाई हर्षोल्लास र उत्साहका साथ मनाउँछन् तर त्यसमा निहित सन्देशप्रति भने सबै जसो सजग र सचेत हुँदैनन् बरु उदासीन पो भएको हो कि भन्ने भान पर्छ कहिलेकाहीँ । यसो हुनाको कारण चाडपर्वको महìव, उपादेयता र त्यसभित्र अन्तर्निहित सन्देशप्रतिको उदासीनता नै हो भन्नु पर्छ । विजयादशमी पर्व भगवान् रामले राक्षसराज रावणको अन्त्य गरेको खुसी व्यक्त गर्ने रूपमा र माता दुर्गाले आतङ्ककारी महिषासुरको नाश गरेको सन्दर्भमा मनाउने चलन छ । यसलाई अलग अलग स्थानविशेषमा अलग अलग प्रकारले मनाउने गरेको पाइन्छ । कहीँ रावणदहन उत्सवका रूपमा कहीँ नवरात्र र विजयादशमी वा बडादसैँ पर्वका रूपमा, कहीँ दशहराको रूपमा । 

नेपाली संस्कृति सधैँ सौर्य, पुरुषार्थ र वीरताको पूजक र शक्तिको उपासक रहँदै आएको छ । हुन पनि शक्तिबिना कुनै पनि प्रकारको विजय सम्भव छैन । यसैले पनि हो सनातन हिन्दु धर्मसंस्कृतिमा प्रायः सबै जसो देवीदेवतालाई कुनै न कुनै शस्त्रअस्त्र धारण गरेको रूपमा शास्त्रीय ग्रन्थहरूले उल्लेख गरेका छन् र त्यसैलाई कलाकारहरूले आफ्नो कुची, बुरुस र औजारले मनमोहक रूप र आकृतिमा जीवन्त तुल्याएका देखिन्छन् । शक्तिको उपयोग आवश्यक पर्दा आसुरी शक्ति वा दुष्टताको विनाश गरी धर्मको पुनस्र्थापना गरिने परम्परा रहिआएको छ । शक्ति आर्जन सजिलो छैन, यसका लागि सदैव उपयुक्त साधनाको निरन्तरता आवश्यक पर्ने हुन्छ ।

विजयादशमीको मुख्य केन्द्रमा नवरात्रिको साधना, महासरस्वती, महालक्ष्मी र महादुर्गाको पूजाअर्चना रहेको हुन्छ । यस परम्पराको उठानको केन्द्रीय पात्र एवं आदर्श व्यक्ति चाहिँ मर्यादापुरुषोत्तम ‘राम’ नै हुन् । उनी सत्य, मर्यादा, विवेक, प्रेम र त्यागको पराकाष्ठा हुन् । भनौँ भने मानवदेखि महामानवसम्मको सम्पूर्ण यात्रा हुन् भन्दा फरक पर्दैन । यिनै गुणहरूका कारण नेपाली जनमानसका साथै विश्वका सम्पूर्ण सनातन हिन्दु धर्मावलम्बी अनेकौँ शताब्दी बितिसक्दा पनि उनीप्रति श्रद्धा, भक्ति, सम्मान गर्दै सदैव नतमस्तक छ, उनको गुणगान निरन्तर गरिरहेको छ । उनका सम्मानमा अनेकौँ मूर्ति, मन्दिर स्थापना भएका छन् भने भजन, स्तुति, प्रार्थनाहरूले उनको प्रसिद्धि र ख्यातिलाई उजागर गरेको पाइन्छ । उनको नामस्मरण मात्र पनि कैयौँका लागि उद्धारक, मुक्तिदायक र जीवनको आधार बन्न पुगेको छ । 

‘राम’ शब्द संस्कृत भाषाको ‘रम्’ धातुबाट व्युत्पन्न भएको हो, जसको अर्थ ‘रमण गर्नु’, ‘आनन्द लिनु’, ‘खेल्नु’ वा ‘शान्त रहनु’ भन्ने हुन्छ । यसको व्युत्पत्ति यसरी भएको मानिन्छ, “रम्यते अनेन इति रामः” अर्थात् जो सबैलाई आनन्द दिन्छ वा जसमा सबै रमाउँछन्, त्यो राम हो । यसले भगवान् रामलाई आनन्दको स्रोत वा मनलाई प्रसन्न पार्ने रूपमा दर्साउँछ । यसबाहेक केही सन्दर्भमा ‘राम’ लाई ‘रात्रि’ (रा) र ‘आम’ (अम) को संयोजनबाट पनि व्याख्या गरिन्छ, जसले अन्धकार (अज्ञानता) लाई नष्ट गर्ने प्रकाशको प्रतीक बनाउँछ । यो व्युत्पत्तिले राम नामलाई आध्यात्मिक रूपमा शक्तिशाली बनाउँछ, जसले जपकर्ता भक्त वा साधकलाई आन्तरिक शान्ति र आनन्द प्रदान गर्छ ।

हिन्दुधर्म–संस्कृतिका कतिपय शास्त्रहरूमा राम नामलाई सर्वोच्च मन्त्र वा तारक मन्त्र (संसारसागर पार गर्ने) मानिन्छ । यसले अज्ञानता, पाप र दुःखलाई जलाउँछ । यससम्बन्धी केही शास्त्रीय उद्धरणहरू यहाँ दिइन्छ– 

–वाल्मीकि रामायणबाट– “रामो विग्रहवान् धर्मः” – अर्थात् राम धर्मको साक्षात् विग्रह (रूप) हुन् । यो उद्धरणले रामलाई धर्म, सत्य र नैतिकताको प्रतीक बनाउँछ ।

–महाभारत वा विष्णुसहस्रनामबाट– “राम रामेति रामेति रमे रमे मनोरमे । सहस्रनाम तत्तुल्यं राम नाम वरानने”, यो शिव–पार्वती संवादको प्रसङ्ग हो, जसमा शिवले पार्वतीलाई राम नामको महिमा बताउँछन् । यो श्लोक मुख्य रूपमा पद्मपुराणको उत्तरखण्डमा वा विष्णुसहस्रनाम स्तोत्रको फलश्रुति (उपसंहार) भागमा पाइन्छ, जुन महाभारतको अनुशासन पर्वमा समावेश छ । यसलाई केही सन्दर्भमा विष्णुसहस्रनामको अन्तिम भाग मानिन्छ, जहाँ शिवले ‘राम नाम’ को महìव बताउँदै यो ‘राम’ नाम विष्णुको हजार नाम जपे बराबर हुन्छ भनी बताएका छन् । 

–पुराणहरूबाट (जस्तै पद्मपुराण वा अन्य)– राम नाम जपले जन्म–मृत्युको चव्रmबाट मुक्ति दिन्छ । एउटा उद्धरण– “राम नामले अज्ञानता, कामना र पापलाई जलाउँछ, चाहे ज्ञानसहित होस् वा विना ज्ञान, सही वा गलत उच्चारणमा पनि यसले वर्षा जस्तै फल दिन्छ ।”

यति मात्र होइन, भनिएको छ, “रमेण कणे कणे इति राम” अर्थात् हरेक कण कणमा राम छन् । त्यसै गरी योगीहरू जुन नाममा रम्दछन्, त्यही नै राम हो भन्ने व्युत्पत्ति पनि पाइन्छ, “रमन्ते योगिनः अस्मिन सा राम उच्यते” । 

अर्कोतर्फ हेरौँ रावण अहङ्कार, दुष्टता, आत्मकेन्द्रितता, अभद्र सम्पन्नता, उद्दण्ड भौतिकता र अत्याचारको प्रतीकका रूपमा समस्त ग्रन्थहरू, जहाँ जहाँ उनका नाम आएका छन्, उनी विद्वान्, शास्त्रज्ञ भईकन पनि निचताको प्रतीक मानिएका छन् । 

त्रेतायुगका राम र रावण दुईबिचको शत्रुता र झगडा मात्र नभई आजका मानिसहरूको हरेक दिनको द्वन्द्व र सङ्घर्षको प्रतिविम्ब पनि हो यो । हरेक मानिसको अन्तर्मनभित्र राम र रावण दुवै विद्यमान छन् । तिनीहरूबिच निरन्तर सङ्घर्ष चलिरहन्छ । हामी स्वयं आफँैले पनि हरेक दिन यस कुराको अनुभव गरिरहेका छौँ ।

विजयादशमीको यस परम पावन अवसरमा हामीले सङ्कल्प र प्रयास आफूभित्रको राम सदैव शक्तिशाली, कल्याणकारी र परोपकारी बनोस्, हरेक दिन मनमा झुल्कने उदण्ड रावणलाई परास्त गरी विवेकी रामलाई आत्मसात् गर्न पाइयोस् । सत्य, न्याय, इमानदारी, अहिंसा, करुणाको सदैव विजय होस् । यसैलाई साथमा राखेर कर्तव्य–कर्महरू गर्न पाइयोस्, जीवनलाई सफल मात्र होइन, असल बनाउन सकियोस्, यही चिन्तन र साधना जीवनमा गर्न पाइयो भने नवरात्रिको साधना, व्रत फलदायी बन्न पुग्छ ।

हरेक व्यक्तिको जीवनमा मात्र होइन, हाम्रो राष्ट्रिय जीवनमा पनि राम र रावण दुवै विद्यमान छन् । कहिले मारीचको रूपमा सुनौलो मृगको लोभलाग्दो रूप लिएर आउँछ, कहिले शूर्पणखाको रूपमा झुटो आकर्षण लिएर आउँछ, कहिले खर–दूषणका रूपमा आतङ्ककारी बनेर हाम्रो प्राचीन संस्कृतिमाथि खुला आव्रmमण गर्छ, कहिले हाम्रा सांस्कृतिक मूल्यहरूको क्षयको कारण बन्छ वा संस्कृतिका प्रतीक र रक्षकहरूमाथि आव्रmमण गर्छ । भगवान् रामले यस्ता राक्षसी र राष्ट्रघातक प्रवृत्ति र शक्तिलाई परास्त गर्न त्यस बेला राष्ट्रवादी, धर्मप्रेमी र संस्कृति रक्षकलाई एकजुट गरी सङ्गठित गरेका थिए र यो सङ्गठित शक्तिका आधारमा रावण र उसको आसुरी शक्तिलाई परास्त गरेका उदाहरण प्रशस्त पाइन्छन् । 

श्रीरामको विजयमा सङ्गठित राष्ट्रिय शक्तिको जति महìव थियो, त्यति नै वा त्योभन्दा बढी महìव श्रीरामको शुद्ध आचरण र विशुद्ध चरित्रको थियो । त्यसैले हिन्दु जीवनमूल्यको प्रकाशमा चरित्रवान् व्यक्तिको आचरणद्वारा निर्माण हुने विजयी सङ्गठित शक्तिका माध्यमबाट मात्र हामी समाजको रावण र आसुरी शक्तिलाई परास्त गर्न सफल हुन सक्छौँ । यो अत्यन्त विचारणीय कुरा छ । 

विभिन्न युगमा रावणका फरक फरक अनुहार देखिएका छन् । आधुनिक परिवेशमा विश्वका प्रत्येक राष्ट्रसामु आतङ्कवाद सुरसाको जस्तै मुख बाएर उभिएको छ । यसका साथै महँगी, बेरोजगारी, सामाजिक विषमता, जातिवाद, साम्प्रदायिकता जस्ता अनेक समस्या आज विश्वकै लागि चुनौती बनेका छन् । यिनको समाधानका लागि निश्चित रूपमा लोकनायक रामको जस्तै सीमित साधनको विवेकपूर्ण उपयोग प्रभावकारी हुन सक्छ ।

आजको सन्दर्भमा अझ यो एक्काइसौँ शताब्दी, जहाँ ज्ञान–विज्ञानको क्षेत्रमा अनेक उपलब्धि हासिल भएर मानिसका अनेक समस्या समाधान भई मानवीयताका अरू प्रवर्धन र उचाइ हासिल गर्नुपर्ने बेलामा रक्तपिपासु बनेर कुनै पशुप्राणीको बलि, हत्या गर्नु आवश्यक छैन । तापनि धर्म–संस्कृति, संस्कार र संस्कृतिको नाममा अझै पाशविक कार्यहरूले प्रोत्साहन पाइरहेका छन् । किन यसो भइरहेका छन् ? 

विजयादशमी या बडादसैँ जे भनौँ यो पशुपन्छीको दशाको पर्व भइरहेको छ । जीवहरूमा सर्वोत्कृष्ट मानिएको मानिसबाटै धर्मको नाममा पशुपन्छीप्रति व्रmुरता, निर्दयता, पाशविकताको पराकाष्टा देख्नु परिरहेको छ । कस्तो विडम्बना ? कस्तो आश्चर्य ? शास्त्रहरू भन्छन्, “अहिंसा परमोधर्म यतो धर्मस्ततो जयः” (वाराहपुराण ११६।३८) अर्थात् अहिंसा नै ठुलो धर्म हो, जहाँ धर्म हुन्छ, त्यहाँ जय कल्याण हुन्छ । यस्ता पवित्र वाक्यहरूले हाम्रा शास्त्र भरिएका छन् । स्कन्दपुराण ६।२३४।२९ मा स्पष्टसँग भनिएको छ–

 यस्मिन धर्मे दया नास्ति सधर्मो दूषितो यतः।

 दया विना न विज्ञानं धर्मो ज्ञानमेव च।। 

अर्थात् जुन धर्ममा दया छैन, त्यस धर्म दूषित हुन्छ, दयाबिना विज्ञान हुँदैन, धर्म ज्ञानमा निहित छ । चाणक्यले चाणक्य नीति (३।१६) मा कतिसम्म भनिदिएका छन् भने “त्यजेत धर्म दयाहीनम” अर्थात् दयाहीन छ भने त्यस्तो धर्मलाई त्यागिदिए पनि हुन्छ । जुन शास्त्रको प्रमाण लिएर पशुबलि प्रथालाई प्रोत्साहन मिल्यो, त्यही देवीभागवत (७१६) मा एक ठाउँमा उल्लेख पाइन्छ, “दया समं नास्ति पुण्यं, पापं हिंसा समं नहि” अर्थात् दया बराबरको पुण्य केही पनि छैन, हिंसा जस्तो पाप अरू केही हुन्न । शास्त्रका यस्ता अनेकौँ स्पष्ट र प्रामाणिक विचार, धारणा र तर्क भए पनि पशुबलि मौलाउनु, पशुहरूको हत्या–हिंसा हुनुमा मानिसमा अन्तर्निहित स्वार्थ र स्वादे जिब्रोबाहेक केही होइन भन्ने देखिन्छ । 

यजुर्वेदमा स्पष्टसँग उल्लेख गरेको पाइन्छ, “पशून् पाहि मा हिंस्यात् सर्वाणी भूतानि” अर्थात् कुनै पनि पशुप्राणीको हिंसा नगर । यसो भन्नुको पनि कारण छ । भगवान् श्रीकृष्णले श्रीमद्भगवद्गीतामा अर्जुनलाई ज्ञान दिने व्रmममा भन्नुभएको छ– “ममैवांशो जीवलोके जीवभूत सनातनः” (श्रीमद्भगवद्गीता १५।७), अर्थात् जीवलोकका सम्पूर्ण प्राणीहरू मेरै अंश हुन् । किनभने “ईश्वरः सर्वभूतानां हृद्देशोक्र्जुन तिष्ठति” (गीता १८।६१) अर्थात् हे अर्जुन ! सम्पूर्ण प्राणीको हृदयमा ईश्वर बसेको छ । 

कहाँनेर हामी चुकिरहेका छौँ सभ्य समाजले विचार गर्नुपर्ने होइन ? कहिले गर्छौं ? अरूले गरून् वा नगरून्, जे गरून् म गलत कर्ममा लाग्दिनँ भन्ने सङ्कल्प नवरात्रको साधना र विजयादशमीको महान् सन्देश हुनु पर्छ ।

विजयादशमीको दिनलाई विजयको लक्ष्यले सीमोल्लङ्घन गर्ने दिन मानेर उहिले उहिले एक देश, अर्को शत्रु सम्झिएको देशमाथि जाइलाग्ने दिन थियो । यो विश्वास प्राचीनकालदेखि चलिआएको थियो । भनिन्छ, यो दिन ग्रह–नक्षत्रहरूको स्थिति यस्तो हुन्छ, जसले गर्दा गरिएको कार्यमा विजय निश्चित हुन्छ । त्यो शुभमुहूर्त ‘तारकोदय’ लाई मानिएको छ । अहिलेको एक्काइसौँ शताब्दीमा अब छिमेकी राज्यलाई दपेट्दै हिँड्ने दिन छैन । उहिलेको जमानामा अर्को देशमाथि जाइलाग्न, सेनालाई उत्तेजित पार्न, लडाइँका लागि प्रेरित गर्न देवी दुर्गालाई पशुबलि दियो भने लडाइँ जितिन्छ भन्ने मनोभावका कारण यस्तो गलत चलनले व्यापकता पायो । यद्यपि हाम्रा कुनै पनि शास्त्रले जगज्जननी दुर्गामातालाई पशुपबलि दिनै पर्छ भनेर कहीँ उल्लेख गरेको छैन । 

दसैँअघि घरकोठामा, गाउँबस्तीमा सुग्घरसफाइ गरेर, देउराली र सार्वजनिक चौरहरूमा रोटेपिङ, डोरीपिङ हालेर केटाकेटीदेखि प्रौढ, वृद्धवृद्धाहरू त्यसमै रमाएर मानौँ दसैँ–तिहारको स्वागत गरेको भान पर्छ । घर घरमा आफ्नो पूजाकोठा, देवालय, मन्दिरहरूमा नवरात्रिभरि माता देवी दुर्गाको पूजा–अर्चना र साधना गरेर दशमीको दिन विजयादशमीको प्रसादस्वरूप पहिले घरका मान्यजन, त्यसपछि नाता–गोता, इष्टमित्र आदि मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद लिने दिनको रूपमा नेपालीहरू मनाउने गर्छन् । यो एकता, मिलन, सम्मान र सामाजिकीकरणको अत्युत्तम पर्व हो । 

विजयादशमी असल सङ्कल्प लिने, सङ्कल्पित भएर देशसेवा, मानवसेवा, प्राणीसेवा, मानवताको हित–प्रवर्धनको व्रत लिने महान् पर्व हो । आफूभित्र चरित्रनिर्माण र राष्ट्रनिर्माणको व्रत लिने पर्व हो । व्यवहारमा उल्टो भइरहेको छ । यसप्रति थोरैको मात्र ध्यान गएको छ । समस्याको समाधान साधनमा होइन, साधनामा निहित छ । समाज परिवर्तनको सङ्कल्प लिनु पर्छ । केवल अन्धकारलाई सरापेर अन्धकार मेटिँदैन । केही न केही दियो बालेर प्रकाश फैलाउनु पर्छ । ‘चरैवेति चरैवेति’ को सिद्धान्त अनुसार आफ्नो कार्यमा लागिरहँदै लक्ष्य प्राप्ति र विजय प्राप्ति असम्भव छैन, सम्भव छ । यस्ता महान् पर्वको अर्थ र गरिमालाई बुझेर जीवनमा साìिवकता, आत्मीयता, निर्भीकता र राष्ट्र रक्षा एवं राष्ट्र कल्याणको प्रेरणा लियौँ भने बल्ल नेपालको एकता, अखण्डता, सार्वभौमिकता, नैतिकता र चारित्रिक सौम्यताको निर्माणको क्षेत्रमा अद्भुत र सराहनीय उपलब्धि प्राप्त हुने छ । यही आफूमाथि आफैको विजय हुने छ, यही राष्ट्रप्रति हाम्रो सर्वोत्तम भेट हुने छ ।