• १४ असोज २०८२, मङ्गलबार

सिंहदरबारको पीडा

blog

सिंहदरबार नेपालको आधुनिक प्रशासनिक इतिहासको केन्द्र हो । आधुनिक राजनीतिक प्रणाली स्थापना र लागु गर्दै हालसम्म भएका कर्मचारीतन्त्रको सुधारका खाका कोर्ने कार्यमा सिंहदरबारको निकै ठुलो भूमिका छ । सिंहदरबार नेपालको इतिहाससँगैको एउटा भव्य राजकीय÷राजनीतिक इतिहाससमेत हो । तत्कालीन श्री ३ चन्द्रशमशेरले आफ्नो निजी निवासका लागि बनाएको भनिएको यो दरबार पछिल्लो समय प्रशासनिक केन्द्रका रूपमा परिणत भएको छ । विश्वव्यापी रूपमा प्रशासनलाई अध्ययनको विधाका रूपमा अपनाउन सुरु गरिएको समयमा राणा प्रधानमन्त्रीले बनाएको यो भवनले सार्वजनिक प्रशासनको क्षेत्रमा उत्तरआधुनिकता अपनाएको समय अर्थात् नयाँ सार्वजनिक शासन (न्यु पब्लिक गभर्नेन्स) को समयमा समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रूपमा यसले सेवा प्रदान गरिरहेको थियो । यो राष्ट्रको कार्यकारी प्रमुखको सचिवालय र प्रशासनिक भवन हो ।

यो भवनले तीन पटक गम्भीर प्रकोपको सामना गर्नु परेको छ । विसं २०३० मा आगलागीको सामना गर्नु परेको थियो । तत्पश्चात् २०७२ सालको भूकम्पले झन्डै छिया छिया पारेको थियो । दुवै प्रकोपपश्चात् जीर्णोद्धार गरिएको थियो । पछिल्लो भूकम्पपश्चात् भने यसलाई निकै दरिलो ढङ्गबाट पुनर्निर्माण गरिएको थियो । झन्डै १२० वर्षअघिको प्रविधि र उपकरणद्वारा निर्मित यो भवनलाई पटक पटक टालटुल गरेर प्रशासन चलाउँदै आइएको हो । यस दृष्टिबाट हेर्दा सिंहदरबारको महìव र यसले बोकेको इतिहास गर्विलो छ । देशको दुरदराजसम्मका विकास योजना निर्माण गर्नेदेखि पछिल्लो समय विकेन्द्रित शासनप्रणालीमा विकासको मूलप्रवाहीकरणको राष्ट्रिय नीतिनिर्माणको मूल थलोका रूपमा भूमिका निर्वाह गर्दै आएको थियो । 

यति मात्र होइन, सिंहदरबारलाई एउटा कुलीन शासकको मिथकबाट समेत हेर्ने गरिन्छ । त्यसैले सङ्घीयतापश्चात् ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने भाष्य चलेको थियो । शासकहरू बस्ने र सम्भ्रान्तहरूको राजकीय शैलीलाई चिनाउने शब्दका रूपमा सिंहदरबार शब्दलाई लिने गरिन्छ । दु्ुर्गम गाउँबाट राजधानी घुम्न आएका मानिस सिंहदरबार हेर्ने चाहना भए पनि मूलढोकाबाट भित्र पस्न सहज नभएका कारण मन अमिलो बनाएर फर्कनुपर्ने पनि देखिन्छ र उनीहरूको मनमा राजाहरू बस्ने सिंहदरबार भन्ने नकारात्मकता रहिरहन्छ । सिंहदरबारभित्र कोही आफन्त वा चिनजानका मानिस नभए अवलोकन गर्नका लागि मात्र सिंहदरबार प्रवेश निकै कठिन छ । त्यसैले दूरदराजका मानिस सिंहदरबारसँग रिसाएर फर्कन्छन् ।

भर्खरै जेनजी पुस्ताको आन्दोलनमा परी बुढो सिंहदरबार पुनः एक पटक आगलागीको सिकार बन्न पुगेको छ । यो भवनले आफ्नो इतिहासमा निकै कष्ट भोग्नु परेको छ । नेपालकै सबैभन्दा ठुलो भवनको उपमा पाएको यो भवनको नाम, उपमा र जिम्मेवारी फरक फरक पक्ष हुन् । शासनप्रणालीको निरन्तरतामा यो भवनको आवश्यकतालाई अब केही फरक दृष्टिकोणबाट हेर्ने कि ? पुनर्निर्मित भवनको कायामा जेनजीको आन्दोलनपश्चात् खरानी र धुवाँका आकृति मात्र छैनन्; सिंहदरबारको क्यानभासभित्र अनेक सपनाका अमूर्त चित्रहरू निर्माण भएका छन् । इतिहासदेखि आजसम्मका शासकीय ढर्राहरूको समालोचना भइरहेको देखिन्छ । त्यहाँभित्र प्रवेश गरेर हेर्दा इतिहासदेखिका कागजपत्रका खरानी हावामा यत्रतत्र उडिरहेका देखिन्छन् । अघिल्लो आगलागीमा एक भाग मात्र जलेका कारण तुलनात्मक रूपमा आजभन्दा कमै क्षति भएको हुनु पर्छ । महाभूकम्पमा समेत अस्थिपञ्जर नै छिया छिया हुने गरी क्षय भएको थिएन । यस पटक भने जल्न सक्ने वस्तु जलेका कारण सिंहदरबारले सबैभन्दा धेरै पीडा सहेको देखिन्छ ।

नेपालीको सपना चित्राकृति

सिंहदरबार ढुङ्गा, माटो, फलाम र काठको अस्थिपञ्जर मात्र होइन; यो नेपालको इतिहासको पुस्तक हो । नेपालीको सपना चित्राकृति हो । शासकीय प्रणाली र स्वरूपको समयव्रmमको थोप्लाहरू जोडिएको रेखाचित्र पनि हो । यसले बोकेको भावले सार्वजनिक सेवा प्रवाहको सुरु विन्दु र विकेन्द्रीकृत विन्दुसम्मका भावनाहरूको सङ्गमलाई प्रतिविम्बित गर्छ । यो प्रशासन सञ्चालनका लागि सबैभन्दा ठुलो भवन मात्र होइन; भर्खरै ठुलो धनराशि खर्चिएर पुनर्निर्माण गरिएको हो । यस अर्थमा यो भवन निर्माण गर्न सुरुदेखि आजसम्म धेरै पुस्ताका हातका चव्रm खिइएका छन्; त्यति नै धनराशि पनि खर्च भएको छ । सिंहदरबारलाई पुनर्निर्माण (टालटुल) गर्नु पर्छ र त्यहीँबाट पुनः प्रशासन सुचारु गर्नु पर्छ भन्ने भावना वर्तमान राजनीति र प्रशासनको माथिल्लो तहमा देखिन्छ । नवनिर्मित सरकारले पनि चाँडै सिंहदरबार पुनर्निर्माण गर्ने भन्ने भावोच्चारण गरिसकेको देखिन्छ । 

सिंहदरबारको पुनर्निर्माणले लामो समयको इतिहास र प्रशासनिक विरासतलाई निरन्तरता दिँदै अगाडि बढ्न सहयोग गर्छ । अर्को उस्तै सेवा केन्द्र निर्माणमा लाग्ने खर्च जोगाउँछ । यसै गरी नागरिकमा हाम्रो सिंहदरबार अझै कामयाब छ भन्ने आत्मविश्वास आउने छ । जनताको जुनसुकै आन्दोलनपछि पनि पटक पटक उठ्न यसले आत्मबल दिन्छ भन्ने विश्वास जगाउँछ । पितापुर्खाको धरोहरभित्र रहेर कार्यसम्पादन गर्दा आत्मबल र उत्प्रेरणा लिन सकिने आध्यात्मिक पक्ष त छँदै छ । यसबाट सिंहदरबारलाई चाँडै पुनर्निर्माण गरी सञ्चालन गर्नु पर्छ भन्ने दरिलो तर्कहरू अगाडि आएका छन् । यद्यपि निम्न पक्षलाई विचार गर्दा सिंहदरबारलाई पुनर्निर्माण गरी सेवा सुचारु गर्नुभन्दा भग्नावशेषकै अवस्थामा स्मारकका रूपमा संरक्षण गर्दा उत्तम हुने देखिन्छ ः

जनआन्दोलनको स्मरण ः जनताले गर्ने आन्दोलन शासकहरूको शक्ति दुरुपयोगको विरुद्धमा हो । नेपाली जनताले लामो समयव्रmममा पटक पटक ज्यान आहुति दिएका छन् । यद्यपि अपेक्षा अनुरूप शासन शैली प्राप्त गर्न नसक्दा जनतामा रहेको निराशाका कारण ज्यानको बलिदानी दिएका छन् । अबका उत्तरआधुनिक सरकारहरूले जनता प्रथम (पिपल्स फस्र्ट) को नीति अनुसार काम गर्न र उप्रान्त कहिल्यै पनि यस्तो आन्दोलन नहोस् भन्नका लागि जलेको सिंहदरबारलाई फराकिलो टिनको छाना र वरिपरि बार हाली स्मारकका रूपमा  संरक्षण गर्दा उत्तम हुने देखिन्छ ।

सिंहदरबार मिथकको रूपान्तरण ः गाउँ गाउँमा सिंहदरबार भनेको सङ्घीयताअघि सेवा प्रवाह केन्द्रीकृत थियो भन्ने पक्षबाट आएको व्यङ्ग्य हो । आज गाउँ गाउँमा सिंहदरबार पुग्दा पनि सेवा प्रवाहले अपेक्षाकृत रूपमा जनसन्तुष्टि प्राप्त हुन सकेको देखिँदैन । नागरिकबाट सिंहदरबार शब्दप्रति नै आव्रmोश आइरहेको देखिन्छ । अबको आधुनिक, लोकतान्त्रिक र जनमैत्री प्रशासन हरेक पालिका र वडाको फराकिलो सेवा केन्द्रबाट प्रदान गर्दै सिंहदरबार मिथकको अन्त्य गर्न सिंहदरबारलाई विश्राम दिई भग्नावशेषको रूपमा संरक्षण गर्नु राम्रो देखिन्छ ।

प्रकोपीय जोखिमबाट बच्न ः झन्डै १२० वर्षअघि निर्माण गरिएको भवन पुनर्निर्माण गर्दै दैनिक कार्य सञ्चालन गर्नु वैज्ञानिक ढङ्गबाट उपयुक्त नहोला । त्यसबेला राखिएको जग र प्रयोग गरिएका निर्माण सामग्रीको समेत निश्चित आयु होला । आगोले छिया छिया पारेको भवन पुनर्निर्माण गर्ने रकमले आधुनिक सामग्रीबाट नयाँ घर बनाउन सकिएला । 

अध्ययन केन्द्र ः विश्वका धेरै देशले यस्ता भवनलाई पुराताŒिवक अध्ययनको आकर्षण बनाएका छन् । राजनीतिक, प्रशासनिक र सांस्कृतिक पक्षको अध्ययन केन्द्रका रूपमा तयार गर्न यस्ता भवनलाई स्मारकका रूपमा स्थापित गर्दा शैक्षिक पर्यटन र पुनर्जागरणका लागि सकारात्मक देखिन्छ ।

पर्यटकीय आकर्षण ः राजधानीका अन्य प्रशासनिक भवन केही फराकिलो स्थानमा सार्न सके यस क्षेत्रलाई भविष्यमा सबैभन्दा उन्नत पर्यटकीय केन्द्र बनाउन सकिन्छ ।

तत्कालको आवश्यकता र पुनर्निर्माणको क्षमता आकलन गर्दा यस भवनलाई चाँडै पुनर्निर्माण गरी सञ्चालन गर्नुपर्ने बाध्यता सरकारसामु होला । यद्यपि हामीले अब केही फराकिलो गरी प्रशासन र राजनीतिको विन्यासलाई हेर्न आवश्यक छ । केन्द्र सरकारका अङ्गहरूलाई समेत विकेन्द्रित ढङ्गबाट सञ्चालन गर्दा राष्ट्रिय एकता र सहिष्णुता वृद्धि हुने तथ्यलाई नकार्न सकिन्न । कतिपय राष्ट्रले कार्यपालिका र व्यवस्थापिका कार्यालयलाई भिन्न भिन्न प्रदेशमा समेत राख्ने गरेका छन् । यसले मोबिलिटी बढाउने, यातायातका सुरक्षित र शीघ्र पूर्वाधार विकास हुने, आर्थिक पूर्वाधार विकेन्द्रित हुने र बस्ती व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ । हामीले पनि जनतालाई प्रत्यक्ष सेवा प्रदान गर्नेबाहेक सबै सङ्घीय कार्यालय र एकाइ सिंहदरबारभित्र मात्र नराखी फरक फरक प्रदेशमा पनि राख्न सकिन्छ । जस्तै राष्ट्रिय योजना आयोगलाई निरन्तरता दिने भए रसुवाको लाङटाङमा राख्न सकिन्छ ।

नेपालको राजनीति र प्रशासनमा आजसम्म विकेन्द्रित र परोपकारी (फिल्यान्थ्रोपी) सोच आउन सकेको  छैन । त्यो सोच बृहत् रूपमा आउने हो भने सिंहदरबारभित्र राख्न खोजिएको संसद् भवन पनि कुनै अर्को प्रदेशमा सार्न सकिन्छ । जापान र चीनमा भएको जस्तो तीन सयदेखि छ सय किलोमिटर प्रतिघण्टाका रेलवे निर्माण गर्न सकिन्छ । नगरेर सुख नै छैन । अहिलेको अवस्थामा त सिंहदरबार क्षेत्रमा प्रवेशका लागि सहज मार्ग छैनन् । अब त्यहाँ संसद् सञ्चालन भएपछि निकै नै ट्राफिक जाम हुने देखिन्छ । हाललाई सिंहदरबार पुनर्निर्माण गरेर सेवा सञ्चालन नै गरे पनि भविष्यमा उल्लिखित दृष्टिकोणबाट अगाडि बढ्नैपर्ने बाध्यता देखिन्छ ।