• १३ असोज २०८२, सोमबार

चीन-उत्तर कोरिया सहकार्य बलियो बनाउँदै ‘आधिपत्यवाद’को विरोधमा एकजुट

blog

बेइजिङ, असोज १३ गते । चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरियाली समकक्षीलाई भेट्दै प्योङयाङसँगको सहकार्यलाई अझ सुदृढ बनाउन र संयुक्त रूपमा ‘आधिपत्यवादको विरोध’ गर्न चाहने स्पष्ट अभिव्यक्ति दिनुभएको छ । यो भेटवार्ता उत्तर कोरियाली नेता किम जोङ उनको दुर्लभ चीन भ्रमण भएको केही सातापछि आइतबार बेइजिङमा सम्पन्न भएको हो । 

त्यस अवसरमा उत्तर कोरियाका विदेशमन्त्री चो सोन-हुईले वाङसँग भेटवार्ता गर्नुभएको थियो । वाङले भन्नुभयो, “चीन-उत्तर कोरिया सम्बन्धलाई कायम राख्नु, सुदृढ पार्नु र विकास गर्नु चिनियाँ सरकारको अटल रणनीतिक नीति हो । चीन अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा उत्तर कोरियासँग सहकार्य र समन्वय बढाउन इच्छुक छ । हामी सबै प्रकारका आधिपत्यवादको विरोध गर्दै दुवै पक्षको साझा हित र अन्तर्राष्ट्रिय निष्पक्षता तथा न्यायको रक्षा गर्न प्रतिबद्ध छौँ ।”

यी टिप्पणी चीनले आफ्नो प्रमुख प्रतिस्पर्धी संयुक्त राज्य अमेरिकालाई लक्षित गर्दै गरेको प्रष्ट देखिएको विश्लेषकको भनाइ छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले मन्त्रीबिचका छलफलमा विभिन्न मुद्दामा ‘पूर्ण सहमति’ भएको उल्लेख गरेको छ । दक्षिण कोरियाली एजेन्सी योनहापले पनि दुवै मन्त्रीले ‘अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूमा गहिरो विचार-विमर्श गरी पूर्ण सहमति गर्नु भएको’ जानकारी दिएको छ ।

प्योङयाङको आणविक कार्यक्रमका कारण चीन-उत्तर कोरिया सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण भए पनि दुई छिमेकीबिचको घनिष्ठता कायम रहँदै आएको छ । यसै महिनाको सुरुमा बेइजिङमा दोस्रो विश्वयुद्धको समाप्तिको ८० औँ वार्षिकोत्सवमा आयोजित भव्य सैन्य परेडमा किम, चिनियाँ राष्ट्रपति सी जिनपिङसँगै उभिनुभएको थियो । बेइजिङ उत्तर कोरियाका लागि कूटनीतिक, आर्थिक र राजनीतिक समर्थनको महत्वपूर्ण स्रोत मानिन्छ । दुवै देश संयुक्तरूपमा अमेरिकाविरुद्धको साझा विरोधमा बाँधिएका छन् ।

यसैबिच, किमले यदि वासिङ्टनले उत्तर कोरियालाई आफ्नो आणविक कार्यक्रम परित्याग गर्न माग नगरे मात्र प्योङयाङ अमेरिकासँग पुनः सम्पर्कमा जान तयार हुने बताउनुभएको छ । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई अमेरिकासहित दक्षिण कोरिया र अन्य सहयोगीले दिएको सुरक्षा चुनौतीको ‘न्यायसङ्गत प्रतिक्रिया’ भएको ठहर गरेको छ । रासस/एएफपी