रामकृष्ण बोहरा
बागलुङ, असोज १३ गते । असला माछाको लागि अब्बल मानिने गलकोटमा पछिल्लो समय उत्पादन घट्दैगएको छ । पहिला दैनिक १० केजीसम्म असला बेच्ने अनुभव सुनाउने गलकोटका व्यवसायी अहिले मुश्किलले चार केजी बेच्न सकेको बताउनुहुन्छ ।
जथाभावी माछा मार्ने, बिष हाल्ने, बम पड्काउने र नदीमा अनावश्यक रुपमा गिटी कालुवा उत्खनन् गर्ने, दोहन गर्ने क्रमले असला घट्न थालेको हो । बजारीकरण बढ्दा फोहोर फाल्ने कामले जलचर संकटमा परेका छन् । करेन्ट लगाएर माछा मार्ने प्रवृत्ति बढ्न थालेपछि गलकोट नगरपालिकाले संरक्षण अभियान थालेको छ ।
‘‘करेन्ट लगाएर वा बिष हालेर मार्दा त साना–ठूला सबै माछा एकै पटक मर्छन्, त्यो प्रवृत्ति रोक्न जलचर संरक्षण नीति ल्याएका छौं’’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले भन्नुभयो, ‘‘असला माछा मात्र हैन, खोलाका अन्य जिवजन्तु पनि बचाउन नीति ल्याउन बाध्य भयौं ।’’ यो नीतिले असला माछासँगै खोला संरक्षणको बाटो पनि खोलेको भण्डारीको भनाइ छ ।
वर्षातमा मात्र रोक्न सके पनि माछा उत्पादन बढ्ने र त्यसबाट हिउँदमा व्यवसायीले मनग्य असला माछा बेच्न पाउने उभण्डारीले बताउनुभयो । माछा मारेर जिविकोपार्जन गरेकाहरुलाई पनि त्यसले राहत मिल्नेछ । एकै पटक करेन्ट लगाएर मार्ने र बिष हाल्नेलाई कारवाही समेत गरिएको छ ।
जलचर संरक्षण नीति ल्याएसँगै नगरपालिकाले माछा मार्नेको नाम सूचीकृत समेत गरेको छ । उनीहरुलाई तोकिएको मौषममा माछा मार्ने अधिकार दिइन्छ । साउन, भदौ, असोज र कात्तिक महिनामा माछा मार्न प्रतिबन्ध छ । त्यसपछि माछा मार्न खुला हुन्छ । हिउँदको माघ महिनामा पनि माछा मार्न रोकिएको छ । बाँकी ७ महिना अनुमतिपत्र पाएका जलहारीहरुले माछा मार्छन् ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव खड्काका अनुसार, २ सय ६ जना जलहारीले एक हजार शुल्क तिरेर माछा मार्ने अनुमतिपत्र लिएका छन् । त्यसबाट नगरपालिकाले २ लाख ६ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०८१–८२ मा अबैध रुपमा माछा मार्ने २७ जनालाई कारवाही गरिएको छ । नीति विपरित काम गर्नेलाई दफा १४ बमोजिम कसुर हेरेर एक हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ ।
वर्षा याममा असला माछाले फूल पार्ने समय हो । प्राकृतिक नियम बुझेकाहरुले वर्षातमा माछा खान हुँदैन समेत भन्ने गरेको वडा नं. ३ का अध्यक्ष फमबहादुर खत्री बताउनहुन्छ ।
प्रचलित मान्यतालाई मान्न छाडेपछि गलकोट नगरपालिकाले वर्षातमा खोला–नदीमा माछा मार्न प्रतिबन्ध लगाउन थालेको छ । अघिल्लो आर्थिक वर्ष नगरसभाले ‘जलचर संरक्षण नीति’ बनाएर वर्षातमा माछा मार्ने काममा प्रतिबन्ध लगाइसकेको छ । जापान र अष्ट्रेलिया बस्नेहरुले समेत गलकोटबाट असला माग गर्छन् । स्थानीय व्यवसायीले सुकुटी बनाएर पठाउने गरेको वडा नं. ३ का चित्रबहादुर सलामीले बताउनुभयो । ताराखोला गाउँपालिकाको सिपदेखि गलकोटको रिघाफेदीसम्म असला माछा पाइन्छन् ।