बाबुराम देवकाेटा
सिन्धुलीमाढी, असोज १३ गते । वडा दसैँका कारण बीपी राजमार्ग र मदनभण्डारी राजमार्गमा यात्रुको चाप बढेसँगै सिन्धुलीको विभिन्न ठाँउमा सोमबार चार वटा सवारी दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाँउपालिका–६ भालुखोलामा डबल क्याप बोलेरो सुनकोसी नदीमा खस्दा १३ जना र कमलामाई नगरपालिका–२ चियाबारी नजिक मोटर साईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । त्यस्तै मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–५ घारीथुम्सीमा बस दुर्घटना हुँदा १४ जना र उक्त वडाकै ठाकुरखोला पुल नजिक मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौंबाट सिन्धुलीको धापचौकी आउँदै गरेको बा २० च ९३१ नम्बरको डबल क्याप बोलेरो अनियन्त्रीत भई सुनकोसी गाँउपालिका–६ भालुखोलामा सडकबाट अन्दाजी ५० फिट तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो । उक्त दुर्घटनामा बोलेरोमा सबार चालक सहित १३ जना घाइतेहरुको सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गरी खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा उपचार भई रहेको प्रहरी नायब उपरिक्षक सुर्यप्रकास सुवेदीले जानकारी दिनुभयो ।
दुर्घटनामा परि घाइते हुनेहरु सबै जना सिन्धुली गोलन्जोर गाँउपालिका–४ तीनकन्या निवासी रहेका छन् । घाइते हुनेहरुमा निवासी २० वर्षीया मालती खुलाल, १७ वर्षीया भोजबहादुर थापामगर, २३ वर्षीया प्रेम मगर, २२ वर्षीया जम्पा खुलाल मगर, ११ वर्षीया सुसन मगर, केदार थापा मगर, २० वर्षीया रोजिना थापा मगर, २२ वर्षीया ज्ञानेन्द्र मगर, ३५ वर्षीया ताराबहादुर खुलाल, ८ वर्षीया नितेश मगर, २२ वर्षीया रोश्मी मगर, २५ वर्षीया ओम आले मगर र गाडी चालक २६ वर्षीया ओमबहादुर राना रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बीपी राजमार्ग अन्तर्गत नै कमलामाई नगरपालिका–२ चियाबारी नजिक काठमाडौंतर्फ जाँदै गरेको बा.प्र ०२–०३९ प ४५६५ नम्बरको मोटर साईकललाई बिवपरित दिसाबाट आएको म.प्र. ०१–००१ ज ०२४७ नम्बरको ईभी गाडीले ठक्कर दिदा मोटर साईकलमा सवार दुई जना घाइते भएका छन् । उक्त दुर्घटनाका घाईतेहरु सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका १२ बस्ने २५ वर्षीया प्रबिन तामाङ् र ओखलढुङ्गा जिल्ला चम्पादेवी गाँउपालिका–९ बस्ने मानध्वज बोगटीको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।
मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–५ घारीथुम्सीमा काठमाण्डौबाट काकडभिट्टातर्फ जाँदै गरेको बा.प्र ०१–००६ ख ९४२२ नम्बरको बस अनियन्त्रीत भई सडकबाट अन्दाजी २२ मिटर तल धानबारीमा खसेर दुर्घटना भएको छ । बस दुर्घट्नाका घाइतेमध्ये पाँच जनाको उदयपुरको कटारी अस्पतालमा र नौ जनाको सिन्धुलीकै सिर्थौली अस्पतालमा उपचार भइरहेको छ । सबै घाइतेलाई मध्यम र सामान्य चोटपटक लागेको प्रहरी नायब उपरिक्षक सुबेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कटारी अस्पतालमा उपचार भई रहेका घाइतेहरुमा धुलीखेल नगरपालिका–२ निवासी २३ बर्षका माधब न्यौपाने, झापा केरखा गाँउपालिका–३ निवासी ३६ वर्षीया संदिप योङ्खानी, दमक नगरपालिका–३ बस्ने ३६ वर्षको मुन्ना अधिकारी र नीजको १९ वर्षीया छोरी सुसिला अधिकारी, दमक नगरपालिका–१ निवासी ४८ वर्षीया दिनेस केसी रहेका छन् ।
त्यस्तै सिर्थौली अस्पतालमा उपचार भइरहेका घाईतेहरुमा मोरङ सुन्दरहरैचा गाउपालिका–८ निवासी ४३ वर्षीया लोकबहादुर थापा, ईलाम सुर्योदय नगरपालिका–१४ निवासी २२ वर्षीया लिला भट्राई, काठमाडाैं महालक्ष्मी नगरपालिका–७ निवासी ४५ वर्षीया खेमबहादुर बस्नेत र नीजको श्रीमती ४५ वर्षीया चन्द्रकला पोखरेल, छोरी १९ वर्षीया एन्जीला बस्नेत, छोरी १० वर्षकी अनिषा बस्नेत, काठमाडौं महानगरपालिका–३ निवासी ४० वर्षीया पबित्रा राई, ताप्लेजुङ् सिरिङ्वा गाँउपालिका–६ निवासी ५८ वर्षीया गोपाल कडरिया र बिर्तामोड नगरपालिका–२ निवासी २३ वर्षीया संगिता हेमरन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता, मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–५ ठाकुरखोला पुल नजिक ग ८ प २७४५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घट्ना हुँदा मोटर साइकलमा सवार तीन जना घाईते भएका छन् । घाइते तीन जनामध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ भने अर्का एक जनाको अवस्था सामान्य रहेको छ । घाईतेको दुधौली नगर अस्पतालमा उपचार भई रहेको प्रहरीको भनाइ छ ।