विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज १३ गते । राष्ट्रिय कृषक समूह महासंघ नेपालले सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध गराएको छ ।
दसैँको अवसर पारेर सोमबार महासंघले सुख्खा तथा खडेरी प्रतिकार्य परियोजना कार्यक्रम अन्तर्गत सप्तरी र सिरहाको पाँच पालिकामा गरी दुई सय किसानलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको हो ।
यसै क्रममा रुपनीका सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राष्ट्रिय कृषक समूह महासंघ नेपाल रुपनी गाउँपालिका अध्यक्ष शिवशङ्कर मण्डलले राहत वितरण गर्नुभयो ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजामा सहयोग केयर नेपाल र स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा सुख्खा तथा खडेरी प्रतिकार्य परियोजना कार्यक्रम अन्तर्गत सुख्खा तथा खडेरी प्रभावित कार्यक्रम अन्तर्गत राहत स्वरुप खाद्यान्न वितरण गरिएको महासंघका कार्यक्रम सहायक रामनारायण महतोले जानकारी दिनुभयो ।
प्रत्येक पालिकामा ४० जना सुख्खा तथा खडेरी प्रभावित प्रति किसानलाई सात हजार नौ सय ४० रुपियाँ मूल्य बराबरको खाद्यान्न सामग्रीमा चामल, दाल, तेल, नुन, घिउ, अण्डा, चना, पिठो सहितका सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
सुख्खा तथा खडेरी प्रतिकार्य परियोजना कार्यक्रम सप्तरी र सिरहा जिल्लाको पाँचवटा पालिकामा लागु छ । सप्तरीमा रुपनी, तिलाठी कोइरालाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकामा तथा सिरहाको सखुवाननकार कट्टी तथा लक्ष्मीपुर पतारी गाउँपालिकामा यो कार्यक्रम चलिरहेको राष्ट्रिय कृषक समूह महासंघ नेपालले जनाएको छ ।
सप्तरीको तीन र सिरहाको सिरहा दुई गरी कुल दुई सय किसानलाई कुल १५ लाख ८८ हजार मुल्य बराबरको खाद्यान्न वितरण गरिएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका कार्यक्रम सहायक महतोले बताउनुभयो ।
यस्तै सप्तरी र सिरहाका पाँच वटै पालिकाका प्रति पालिकाका ७० जना गरी ३५० जना सुख्खा तथा खडेरी पीडित किसान लाई कृषि विउ विजन, मल तथा कृषि औजार समेत उपलब्ध गराइएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका अभियन्ता चन्द्रशेखर मंडलले बताउनुभयो ।
प्रति किसान चार हजार तीनसयका दरले १५ लाख पाँच हजार मुल्य बराबरको विउ विजन, मल तथा कृषि औजार उपलब्ध गराईएको मण्डलले जानकारी दिनुभयो ।
यसैगरी सप्तरीको रुपनीमा दुई, तिलाठी कोईलाठीमा एक र हनुमाननगर कंकालिनी नगरपालिका एक गरी समर्सियल सिंचाइ वोरिङ तथा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा एउटा खानेपानी डिप बोरिङ जडान गरिएको राष्ट्रिय कृषक समूह महासंघ नेपालले जनाएको छ ।