काठमाडौँ, असोज १३ गते । वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा. भगवान कोइरालाले मानिसको नसोची ‘रिएक्ट’ गर्ने बानीले मुटुको स्वास्थ्यमा नकरात्मक असर पार्दैआएको बताउनुभएको छ ।
विश्व मुटु दिवस–२०२५ को अवसरमा नेपाल मेडिसिटी अस्पताल र नेपाल हार्ट नेटको संयुक्त सहकार्यमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । उहाँले मुटुलाई स्वस्थ बनाइराख्न सधैँ व्यायाम गर्नुपर्ने, समयमा उच्च रक्तचापको उपचार गर्नुपर्ने तथा धुमपान गर्न नहुने बताउनुभयो ।
हाल नेपालमा उच्च रक्तचाप भएकामध्ये २० प्रतिशत मात्र उपचाररत छन् । यो सङ्ख्या जसलाई कम्तिमा ५० प्रतिशतसम्म पुगाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ।
त्यस्तै, नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले यस अभियानलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्नुपर्ने बताउनुभयो । डा. महतोले भन्नुभयो, “हाम्रो सरोकार केवल नेपालमा मात्र सीमित हुनु हुँदैन, विश्वलाई बुझाउनुपर्ने आवश्यकता छ” भन्दै अन्तर्राष्ट्रिय स्तरसम्म अभियान विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
तथ्याङ्कअनुसार हाल नेपालमा ४० प्रतिशत मानिसको दैनिक ‘स्क्रिन टाइम’ सात घण्टाभन्दा बढी रहेको छ । कार्यक्रममा चिकित्सकहरुले मुटुलाई स्वस्थ र निरन्तर धड्किरहन दैनिक व्यायाम गर्नुपर्ने, स्क्रिन टाइम घटाउने, धुमपान र जङ्कफुड परित्याग गर्ने तथा तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाब दिएका छन् ।
कार्यक्रममा मुटु रोगका कारण बढ्दो मृत्युदर, रोकथामका उपाय र नेपालमा आवश्यक नीतिगत सुधारबारे विशेषज्ञहरूले महत्वपूर्ण तथ्याङ्क प्रस्तुत गरेका थिए । नेपाल हार्टनेट मुटु स्वास्थ्य क्षेत्रमा काम गर्ने १९ वटा चित्किसक तथा संस्थाहरुको संयुक्त संस्था हो।