• ८ वैशाख २०८१, शनिबार

हैजा हुनेको सङ्ख्या १४ पुग्यो : ललितपुरमा बढ्दै

blog

फाइल तस्बिर

काठमाडौं, असार १५ गते। काठमाडौं उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ। बुधबार थप दुई जनामा हैजा पुष्टि भएको छ। योसँगै असार २ गतेदेखि असार १५ गतेसम्म १४ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र दिसा कल्चर विधिबाट परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो। 

मिश्राका अनुसार, हैजा पुष्टि हुनेमा चार महिला १० जना पुरुष छन्। त्यसैले सबैलाई सचेत रहन डा. मिश्राको आग्रह छ। उमेर अनुसार सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिमा हैजा पुष्टि भएको छ। यो उमेर समूहका तीन जना पुरुष र दुई जना महिला हुनुहुन्छ। 

काठमाडौं उपत्यका हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको छ। पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरबाट लिएको १८ वटा पानीको नमूनामध्ये १२ वटा नमूनामा इकोलिन फेला परेको थियो। इडिसिडी र केयुकेयलले संयुक्तरुपमा लिएको ४९ वटा पानीको नमूना परीक्षण गरिएकोमा ३५ वटा नमूनामा इकोलिन फेला परेको थियो। भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउँछन्। 

निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन्। हैजा लागेपछि तौल घट्दै गएमा, पेट दुखेमा, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने र जलवियोजन हुने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान चिकित्सकको आग्रह छ। 

हैजाबाट बच्न सकेसम्म घर बाहिर खाना र बासी खानेकुरा नखाने, घरमा पकाएको साजी खानेकुरा खाने, पानी उमालेर वा क्लोरिनको प्रयोग गरी शुद्ध बनाई पानी पिउन चिकित्सकको सुझाव छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।