• ३१ असोज २०८२, शुक्रबार

रोट पकाएर फेरियो जीवनशैली

blog

अर्जुन कार्की

काठेखोला (बागलुङ), असोज १३ गते । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर गेटको दायाँपट्टि टिनले छाएको सानो छाप्रो छ । त्यही छाप्रोमा पसिना पुछ्दै रोट पकाइरहेको अवस्थामा बागलुङ नगरपालिका–१, भगवती रोडका डम्बर मल्ल भेटिनुहुन्छ । 

बडादसैँको नवरात्र सुरु भएपछि मल्ल बिहानैदेखि अगेनामा रोट पकाउन व्यस्त हुनुहुन्छ । नवरात्रमा मन्दिर आएका दर्शनार्थीका जिज्ञासा मेटाउँदै कालिका र रोटको महिमा सुनाउँदै पूजा तथा प्रसादका लागि रोट बिव्रmी गर्नु उहाँको दैनिकी बनेको छ । कुनै समय अत्यधिक मदिरा सेवन गरेर दिन बिताउने गरेको बताउने मल्लले रोट बनाउन थालेपछि भने आफ्नो जीवनशैली नै परिवर्तन भएको बताउनुभयो । 

२०७६ सालदेखि मल्लले कालिका भगवती मन्दिर गेटमा कालिका मातालाई चढाउने रोट बनाउन थाल्नुभएको हो । सोही समयपछि जीवनशैली र बोलिचालीमा ठुलो परिवर्तन आएको उहाँले अनुभव सुनाउनुभयो  । 

उहाँ भन्नुहुन्छ, “कालिका माताको कृपाले यो काममा लागेँ, अहिले यसमै सन्तुष्टि पाएको छु । पहिले जाँडरक्सी खाने बानीले बिग्रिएको थिएँ । अहिले भने मेरो त्यतातिर ध्यान छैन ।” 

मल्ललाई रोट बनाउन तत्कालीन कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले सुझाइदिनुभएको थियो । रोट बनाउन पाल्पा भैरवस्थान पुगेपछि सिकेको उहाँ बताउनुहुन्छ । उहाँ त्यो क्षण अझै सम्झनुहुन्छ, “त्यो बेला मलाई रोट कसरी बनाउने भन्ने ज्ञान थिएन । संयोगवश परिवारसहित घुम्न पाल्पा भैरवस्थान पुगेको थिएँ । त्यहाँ तीन दिन बस्दा मैले रोट बनाउनेबारे थाहा पाएँ र यहाँ आएर त्यही कामले मेरो जीवन गुजारा चलेको छ र बानी पनि सप्रिएको छ ।”

कालिका भगवतीलाई प्रसादस्वरूप नैबेतका सामग्री मिसाएर पकाइने रोट चढाउने प्रचलन पुरानो हो । बलि चढाउन नसक्ने र नरिवल फूलप्रसादको चलन सुरु नुहँदासम्म भक्तजनले घरमै रोट बनाएर चढाउने गर्थे । घरमै बनाउने चलन हराउँदै गएपछि मल्लले मन्दिर गेटमै भक्तजनलाई सजिलै उपलब्ध गराउन थाल्नुभएको छ । भक्तजन कालिकामा चढाउन र प्रसादका लागि रोट किनेर लैजाने गरेको मल्लले बताउनुभयो ।

एउटा रोट बनाउन एक माना चामलको पिठो, ल्वाङ, नरिवल, चिनी, अन्य नैबेतका सामग्री र करिब दुई सय ग्राम स्थानीय घिउ प्रयोग हुने मल्लले बताउनुभयो । एउटै रोट पकाउन करिब ४५ मिनेट लाग्ने भएकाले चाडपर्वमा बिहानैदेखि उहाँको दैनिकी सुरु हुन्छ । उहाँले भन्नुभयो, “कसैले एउटा मात्रै रोटको माग गर्दा त्यसमा सामग्री धेरै जान्छ, त्यसले मलाई कुनै फाइदा हुँदैन । अलि धेरै रोटको माग भयो भने त्यसबाट फाइदा हुने हो । धेरै बनाउँदा घिउ कम खर्च हुन्छ । त्यसले नै मलाई फाइदा दिने हो ।” 

मल्लले एउटा रोटको मूल्य चार सय रुपियाँ राख्नुभएको छ । सामान्य दिनमा भन्दा बडादसैँ र चैतेदसैँमा पाँच÷छ गुणाले बढी माग हुने उहाँको भनाइ छ । मल्लले भन्नुभयो, “दसैँको समयमा देशभरिबाट पूजाआजाका लागि भक्तजन आउनुहुन्छ । भक्तजन बढेपछि रोटको माग बढेपछि मलाई पु¥याउन मुस्किल भएको छ ।” अहिले चार वटा चुलामा उहाँले रोट बनाउनुभएको छ । एउटा रोट पकाउन पौने घण्टा लाग्ने हुँदा भिड बढ्दा गाह्रो हुने उहाँको भनाइ छ । एक पटक रोट चढाएपछि भक्तजनले बढी पैसा पनि दिने गरेको उहाँले बताउनुभयो । 

पुरानो पुस्ताले मात्र रोटको महìव बुझ्ने गरेको भन्दै उहाँले नयाँ पुस्तालाई यसको महìव बुझाउन यो व्यवसाय रोजेको बताउनुभयो । “मैले रोटको महìव थाहा पाएँ । मेरा छोराछोरीलाई के हो भन्ने थाहा थिएन तर मैले बनाउन थालेपछि उनीहरूले पनि बुझ्न थाले ।” 

उहाँ दैनिक नुहाएर मात्र चुलो बाल्नुहुन्छ । उहाँले भन्नुभयो, “मेरो घरमा जुठो परे चुलो बल्दैन, नुहाएर चोखो नभएसम्म रोट पकाउँदिन । आस्था र विश्वाससँग जोडिएको काम भएकाले व्यवसायसँगै धर्म र कर्तव्य निभाउनु पर्छ भन्ने लाग्छ ।” तीन सन्तानमध्ये उहाँका एक छोरा जापान र अर्काे बेलायतमा र छोरी अस्ट्रेलियामा छन् । मन्दिर गेटमा मासिक पाँच हजार रुपियाँ भाडा तिरेर सानो सटर लिएर व्यवसाय सञ्चालन गरिरहनुभएका मल्लले रोटसँगै परेवाको दाना र अन्य पूजा सामग्री पनि बिव्रmी गर्नुहुन्छ । यसैबाट उहाँले मासिक करिब ५० हजार रुपियाँ आम्दानी हुने गरेको बताउनुभयो ।