• १७ असोज २०८२, शुक्रबार

गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

blog

बडादसैँ अन्तर्गत फूलपातीका दिन सोमबार गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारमा पठाउन लागिएको फूलपाती बिदाई गरिँदै । तस्बिर: दीपक श्रेष्ठ/रासस

गोरखा,  असोज १३ गते ।  गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमानढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिनुभयो ।

बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमानढोका दरबारका लागि फूलपाती पठाइएको उहाँको भनाइ छ । गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोेकेर ल्याई गाडीमा राखेर पठाएका हुन् । गोरखा दरबारको दसैँघरबाट बाजागाजासहितको र्‍याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

“गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारमा पुर्‍याएपछि आजै साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन छ”, उहाँले भन्नुभयो । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा लगेर भित्र्याउने गरिएको छ ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले गोरखा दरबारको फूलपातीको बिदाइ गरेर हनुमान ढोका दरबार पठाउनुभएको हो । गोरखा दरबारको दसैँघरमा पनि आज साँझ हर्षबढाइँका साथ फूलपाती भित्र्याइन्छ । रासस