नागेन्द्रकुमार कर्ण
महोत्तरी, असोज १३ गते । यतिबेला दसैँको रमझममा सबै झुमेका छन् । मिथिलाञ्चलमा दसैँको अवधिमा दुर्गा प्रतिमास्थल तथा मन्दिरमा विशेष पूजापाठ हुँदै आएको छ । महोत्तरीका गाउँ गाउँमा रहेका दुर्गा मन्दिरमा तथा दुर्गाको प्रतिमा बनाएर पूजापाठ गरिन्छ । दसैँका अवसरमा दर्शनसँगै घुम्ने सकिने महìवपूर्ण ठाउँ अझै ओझेलमा परेका छन् ।
धार्मिक पुस्तकको लेखनमा लाग्नुभएका जलेश्वरका युवा राकेशप्रसाद चौधरीले दसैँको अवधिमा महोत्तरीमा त्रिशूलीदेवी, उमा महोदरी, सोनामाईस्थान, जलेश्वरको दुर्गा, मटिहानीको लक्ष्मीनारायण मन्दिर, मठ दर्शनयोग्य स्थान रहेको चर्चा गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, “मिथिलामा परापूर्वकालदेखि नै शक्तिको महिमाले पुष्पित र पल्लवित हुँदै आएको छ । भगवान्को स्त्री रूपलाई शक्ति भनिने र दसैँको अवधिमा शक्तिको पूजापाठ गरिने भए पनि प्रचारप्रसार अभावले यहाँका शक्तिपीठ ओझेलमा पर्दै आएका छन् ।”
उहाँले महोत्तरीको सदरमुकाम जलेश्वरमा जलेश्वरनाथसँगै रहेको उमा महोदरी पीठ शक्तिपीठका रूपमा रहे पनि थोरैलाई यसको जानकारी रहेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “प्रसिद्ध पुराणतन्त्र चूडामणिको श्लोक ४३ मा यहाँ सतीदेवीको बायाँ काँध झरेको प्रसङ्ग छ । यहाँ सती ‘उमा’, महादेवी र शिव महोदर नामले चिनिन्छ । शिव महोदर हो भन्ने शक्ति महोदरी हो । त्यस्तै जलेश्वरमा जलमा विराजमान जलेश्वरनाथ रहनुभएको ब्रह्मपुराणमा उल्लेख छ ।”
जलेश्वरनाथ मन्दिरकै दक्षिणतर्फ त्रिशूली देवीको मन्दिर छ । जो दसैँको अवधिमा मात्रै खोलिन्छ । जलेश्वरनाथ मन्दिर परिसरभित्र रहेको सो देवीको मन्दिर प्राचीनकालदेखि नै वर्षभरि नै बन्द रहने र दसैँको १० दिन मात्र खुल्ने गरेको छ । माता दुर्गाकै एक रूप मानिएको कारणले सो भगवतीको दर्शनका लागि नवरात्रभरि खुला गरिने गरिएको छ । जलेश्वरनाथ महादेव मन्दिरका पुजारी उपेन्द्र पाठकले फलामे त्रिशूलको आकारमा रहेको कारण यस देवीलाई त्रिशूली देवी भनिँदै आएको बताउनुभयो । सो भगवतीको पूजाआराधना गर्दा मनोवाच्छित फलका साथै चिताएको मनोकामना पूरा हुने विश्वासका कारण दसैँमा भक्तजनको भिड हुने गरेको छ ।
सदरमुकाम जलेश्वरदेखि ३२ किलोमिटर उत्तर पश्चिममा पर्ने जलेश्वर–बर्दीबास सडकखण्डको सोनामाईमा रहेको सोनामाई मन्दिर पनि दसैँको अवधिमा दर्शनार्थीको केन्द्र बन्ने गरेको छ । यहाँ दसैँ सुरु भएसँगै बोक्सी, भूतप्रेत नियन्त्रण गर्ने मेला प्रारम्भ हुने भएकाले दसैँको अवधिमा नेपालसहित भारत विहार राज्यको विभिन्न जिल्लाबाट भक्तजन दर्शन गर्न आउँछन् ।
दसैँको अवधिमा महोत्तरीमा दर्शन गर्न र घुम्ने ठाउँमा मटिहानी पनि अग्रपङ्क्तिमा रहेको छ । धार्मिक, ऐतिहासिक, पौराणिक र पर्यटकीय स्थलका रूपमा चिनिँदै आएको मटिहानीमा त्रेताकालीन लक्ष्मीनारायण सरोबरसहित लक्ष्मीनारायण मठ रहेको छ । यहाँ त्रेताकालमा सीताको विवाहोत्सवका लागि मटकोर विधि सम्पन्न गरिएको मानिन्छ । त्यसै गरी नेपालको सबैभन्दा ठुलो राजगुठीका रूपमा रहेको लक्ष्मीनारायण मठ यहीँ छ जो वैष्णव सम्प्रदायका पावन आश्रमका रूपमा चिनिन्छ । यहाँ यस क्षेत्रको ठुलो दुर्गाको प्रतिमाका साथसाथै भव्य रूपमा पूजापाठसमेत हुने गरेको छ । त्यसै गरी दसैँको अन्तिम दिन ‘रावणवध’ कार्यव्रmमसमेत हुने भएकाले यो ठाउँमा दर्शन गर्न र घुम्न आउनेको सङ्ख्या बढेको छ । लक्ष्मीनारायण सरोबरको चारैतिर बलिरहेको झिलिमिली बत्ती तथा फाउन्टेनले ‘सेल्फी’ लिनसमेत यहाँ पुग्ने गरेका छन् ।
महोत्तरीको बर्दीबासमा रहेको प्राचीन पञ्चधुरा मन्दिर पनि दर्शनको केन्द्रविन्दु बन्न सक्छ । राणाशासनका संस्थापक जङ्गबहादुर राणाले ििकार खेल्न जाँदा सेतो बाघ देखेपछि बिरामी भएको र बिरामी भएर फर्कंदा सर्लाहीको पत्थरकोटमा मृत्यु भएको बताइन्छ । यहाँ बाँसधारीमा पहिला पञ्चधुरा देवीको बास थियो भने अहिले मन्दिर बनाइएको छ । जलेश्वरको राजदेवी मन्दिरसमेतमा दसैँको अवधिमा दर्शन गर्नेको भिड हुन्छ । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले दसैँको अवधिमा महोत्तरीको विभिन्न ठाउँको अवलोकन गर्न सकिने बताउँदै भन्नुभयो, “प्रचारप्रसार गर्ने हो भने दसैँको अवधिमा समेत महोत्तरीमा पर्यटक भिœयाउन सकिन्छ ।’’