सुधा देव
भारदह (सप्तरी), असोज १३ गते । सप्तरीको उपभोक्ताको रोजाइमा स्थानीय उत्पादनकै खसी बोका परेका छन् । दशैँका लागि राजविराज बजारमा स्थानीयले पालेको लोकल खसी बोका बिक्रीवितरण भइरहेको छ ।
आफ्नै गाउँ ठाउँमा उत्पादन भएको खसी बोका स्थानीयले किन्दै आएको स्थानीय व्यापारीहरूले बताउनुभयो । दशैँमा गाउँ घरमा पालेको खसीबोका पाल्नेले नै ल्याएर आफैँ बिक्री गर्दै आएको लामो समयदेखि खसिबोकाको व्यापार गर्दै आउनुभएका कासिम अंसारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, अरूबेला हामीमार्फत खसीबोका बिक्रीवितरण गर्दे आए पनि दशैँको समयमा आफैँ आएर बेच्ने गरेका छन् ।
राजविराजको बजारमा सोमबार, बिहीबार खसिबोकाको हटिया लाग्दै आए पनि दशैँको एक हप्ता अगाडिदेखि अष्टमीसम्म दिनहुँ खसिबोको हटिया लाग्दै आएको राजविराज २ कि रूवी झाले बताउनुभयो ।
दशैँको अवसरमा जिल्लामा पंचमी तिथिदेखि नवमीको तिथिसम्म जिल्लाको शक्तिपीठ छिन्नमस्ता मन्दिर, राजविराजस्थित रहेको राजदेवी, भगवती तथा भारदहस्थित रहेको कंकालिनीलगायत मन्दिरसहित घरघरमा आ–आफ्नो कुलदेवतालाई बलि दिँदै आएकाले दशैंंमा जिल्लामा अत्यधिक खसीबोका बिक्रीवितरण हुँदै आएको उहाँले बताउनुभयो ।
गाउँघरमा पालेको लोकल खसिबोका स्थानीयको रोजाइमा रहेकाले बलि दिन दुईवटा लोकल बोका किनेर ल्याएको राजविराज नगरपालिका ६ कि चन्दा देवले बताउनुभयो ।
जिल्लामा स्थानीय खसीबोकाको माग बढ्दै आएकाले राम्रो आम्दानी हुँदै आएको राजविराज नगरपालिका १ की आशा देवी यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, यसपालि पंचमी तिथिसम्म राजविराज बजारमा तीनवटा बोका, दुईवटा खसी र दुईवटा पाठी बेचेर ९० हजार आम्दानी गरेकी छु । तीनवटा बाख्री पालेकी छु । बर्षको १२ वटा पाठा पाठी दिन्छ । दशैंको बेलामा वर्षेेनी सातदेखि नौवटा खसी बोका पाठापाठी बेचेर ८० देखि एक लाखसम्म आम्दानी गर्दै आएको उहाँले जानकारी दिनुभयो । राजविराज बजारमा खसीबोका बिक्रीवितरण गर्न आउनेमा महिलाहरू बढी हुने गरेका छन् ।