गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १३ गते । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले पछिल्लो समय जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृहमन्त्री र ऊर्जामन्त्रीको ध्यानाकर्षण गराएको छ ।
आइतबार इप्पानले पत्रमार्पmत पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनामा अनधिकृत रूपमा १० प्रतिशत सेयर निःशुल्क माग्ने कार्य भइरहेको भन्दै त्यसलाई रोक्ने व्यवस्था गर्न आग्रह गरिएको जनाएको छ ।
पत्रमा सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनामा भोटेकोशी गाउँपालिकामा जेनजी गु्रपका नाममा १० प्रतिशत निःशुल्क सेयरलगायतका माग राखेर विगत १७ दिनदेखि विद्युत्गृह बन्द गराइएको उल्लेख छ । यही कारण दैनिक करिब ९८ लाखसहित हालसम्म १६ करोडभन्दा बढी गुमाउनु परेको उल्लेख छ ।
सिन्धुपाल्चोककै जुगल गाउँपालिकाका स्थानीयवासीका नाममा १० जलविद्युत् आयोजनासँग निःशुल्क सेयर मागेर सम्बन्धित आयोजनामा पत्र पठाइएको उल्लेख छ ।
इप्पान प्रतिनिधिमण्डलले आइतबार नै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालसँग भेट गरी कनेक्सन एग्रिमेन्ट र पावर पर्चेज एग्रिमेन्ट (पिपिए) का लागि आवेदन दिएका करिब १३ हजार मेगावाटका आयोजना खुलाउन अनुरोध गरेको छ ।
भेटमा कार्यकारी निर्देशक सिलवालले निजी क्षेत्र र प्राधिकरणबिच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्ने बताउनुभयो ।