• १३ असोज २०८२, सोमबार

आन्दोलनका घाइतेलाई परिचयपत्र

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज १३ गते  । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान र सहज उपचारको व्यवस्था गर्न परिचयपत्र उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले घाइतेलाई परिचयपत्र उपलब्ध गराउन गृह मन्त्रालयले प्रारम्भ थाल्ने जानकारी दिनुभयो । 

मन्त्री खरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेको पुनः उपचार अर्थात् फलोअपका लागि अस्पताल तोक्नुका साथै ती अस्पतालमा जेनजी क्लिनिक सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । “घाइतेको निःशुल्क आवतजावतसँगै उपचारको समेत व्यवस्था मिलाउने निर्णय भएको छ । घाइतेको उपचारका लागि स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था मिलाउनुका साथै सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेर निजको सम्पर्क नम्बर सार्वजनिक रूपमा राखिने छ,” उहाँले भन्नुभयो, “घाइतेको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरेर तत्काल कार्य प्रारम्भ गर्ने निर्णय भएको छ । प्राविधिक समितिले वर्गीकरण गरेपश्चात् घाइतेलाई उचित राहतको व्यवस्था मिलाइने छ ।”  

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आगामी कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौँ बैठकमा सहभागी हुन स्वीकृत दिने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ ।  मुग्लिङ–पोखरा सडक अन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिङ बजारको पारितिर त्रिशूली किनार गोरखातर्फदेखि मस्र्याङ्दी नदीको किनारको बायाँ हुँदै मस्र्याङ्दी विद्युत्को पारितिर सडक बनाउन मापदण्ड स्वीकृत गरेको उहाँले बताउनुभयो । उक्त सडकको दायाँबायाँ १५÷१५ कुल ३० मिटर सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको हो ।

सल्लाहकारमा खनाल र तिमिल्सेना

प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेना नियुक्त हुनुभएको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । 

परिचयपत्र वितरण सुरु

यसैगरी सरकारले जेनजी आन्दोलनका व्रmममा घाइते भएकालाई परिचयपत्र वितरण गर्न सुरु गरेको छ । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरमा गई घाइतेलाई घाइते परिचयपत्र वितरण गर्न सुरु गर्नुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार परिचयपत्र छपाइ गरेर घाइतेलाई वितरण गरिएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा कुल दुई हजार ३१६ जना जेनजी घाइतेको सूची रहेको जानकारी दिँदै घाइते परिचयपत्र भने तीन हजारप्रति छापिएको बताउनुभयो । उहाँले पछि घाइतेको सङ्ख्या बढ्न सक्ने भएकाले तीन हजार घाइते परिचयपत्र छापिएको बताउनुभयो । डा. बुढाथोकीका अनुसार आइतबारबाट काठमाडौँ, भक्तपुर र ललितपुरमा परिचयपत्र पठाइसकिएको छ । सबैभन्दा धेरै बिरामी रहेको राष्ट्रिय ट्रमा सेन्टरबाट घाइते परिचयपत्र वितरण गरिएको छ ।  

जेनजी क्लिनिक स्थापना

यसैबिच घाइतेको फलोअप उपचार व्यवस्थित गर्नलाई सरकारले जेनजी क्लिनिकको सुरुवात गरेको छ । 

उपत्यकासहित देशभरि १६ वटा अस्पतालबाट जेनजी क्लिनिक सुरु गरिएको हो । आइतबार राष्ट्रिय ट्रमा सेन्टरबाट गृहमन्त्री ओमप्रकाश अर्यालले क्लिनिकको उद्घाटन गर्नुभयो । स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेलाई अस्पतालसम्म निःशुल्क आउजाउको व्यवस्था गर्न एम्बुलेन्सको समेत व्यवस्था गरेको छ । आन्दोलनका घाइतेको उपचारमा सहजताका लागि अस्पतालमा सम्पर्क व्यक्ति पनि तोकिएको छ । 

जेननी क्लिनिक सञ्चालन गरिएका अस्पतालमा काठमाडौँ उपत्यकामाभित्र वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज छन् ।