अविनाश चौधरी
धनगढी, असोज १२ गते । कैलालीको धनगढीमा ६० लाख रुपियाँ लगानीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन गरिएको छ ।
धनगढी उपमहानगरपालिका–२ भन्सार रोडमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन गरिएको हो । स्वास्थ्य संस्थाहरुबाट निस्कने जोखिमयुक्त फोहोरमैला व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिकाले साझा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । यूएनडिपी विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र हेकाफ ३६० को प्राविधिक सहयोगमा केन्द्र बनाइएको हो ।
केन्द्रमा स्वास्थ्य संस्थाबाट सङ्कलन भएका जोखिमयुक्त फोहोरलाई व्यवस्थापन केन्द्रमा ल्याएर नष्ट गरिने जनाइएको छ । केन्द्रमा ल्याइएको फोहोरलाई ‘अटो–क्लेभ मेसिन’ निसङ्क्रमित गरिने जनाइएको छ । उच्च तापक्रम र प्रेसरमा राखेर फोहोरमैलामा रहेको जिवाणु नष्ट गरिने हेकाफ ३६० का कार्यक्रम अधिकृत प्रेरणा डङ्गोलले बताउनुभयो । त्यसपछिमात्रै फोहोर व्यवस्थापन गरिने उहाँको भनाइ छ ।
धनगढी उपमहानगरपालिकामा हालसम्म १७१ वटा स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये २१ वटा स्वास्थ्य संस्था धनगढी उपमहानगरपालिका मातहतमा रहेका छन् । यी स्वास्थ्य संस्थाहरुबाट दैनिक धेरै मात्रामा स्वास्थ्यजन्य फोहोरमैला निस्कने गरेको छ । अब यस्ता फोहोरलाई स्रोतमा पृथकीकरण गर्ने जनाइएको छ । घरदैलो खोप कार्यक्रममा प्रयोग हुने खोप झोलामासमेत सुई काट्ने व्यवस्था गरेको जनाइएको छ ।
धनगढीमा सामान्य फोहोर व्यवस्थापन गरिदैँ आइए पनि स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न भने ठुलो समस्या गरेको छ । केन्द्रको स्थापनाले अब स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा सहयोग पुग्ने हेकाफ ३६० का कार्यकारी निर्देशक मोचन भट्टराईले बताउनुभयो ।
उहाँले प्रारम्भिक वित्तीय विश्लेषण अध्ययन अनुसार कुनै पनि स्वास्थ्य संस्थाको प्रति किलो जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि ४३ देखि ५८ रुपियाँसम्म सेवा शुल्क लाग्ने जानकारी दिनुभयो ।