• १७ असोज २०८२, शुक्रबार

कोरला नाकालाई व्यापारसँग जोडौं : अध्यक्ष ढकाल

blog

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाका अध्यक्षसहितको टोली आइतबार कोरला नाकामा ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), असोज १२ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–चीन–भारतबिच त्रिदेशीयसँगै दक्षिण एशियाली देशको व्यापारका लागि कोरला नाकालाई प्रयोग गर्न सकिने बताउनुभएको छ । 

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेरमा रहेको नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ क्षेत्रमा आइतबार पुग्नुभएका महासङ्घका अध्यक्ष ढकालले नाकालाई बाह्रै महिना व्यावसायिक रुपमा सञ्चालन गर्न भन्सार क्षेत्रमा नेपालतर्फ भौतिक पूर्वाधारसहित जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । 

चीन र भारतलाई जोड्ने छोटो मार्गको रुपमा स्थापित कोरला नाका आर्थिक कारोबार, पर्यटन तथा धार्मिक क्षेत्रको प्रवर्धनमा समेत जोड्न सकिने अध्यक्ष ढकालको भनाइ छ । नाका सञ्चालनमा चिनियाँको सक्रियता र चासो देखाएको बेलामा नेपाली पक्षबाट भरपुर सदुपयोग गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड छ ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘‘कोरलामा अहिले देखिएको चहलपहलले व्यावसायिक रुपमा सञ्चालन गर्न सकिने पुष्टि भएको छ, अब सहजताका लागि आवश्यक पूर्वाधारका लागि ढिलाइ गर्नुहुँदैन ।’’ 

अध्यक्ष ढकालले भदौको अन्तिम सातादेखि मुस्ताङ भन्सार कार्यालय न्हेछुङबाट विद्युतीय (ईभी) गाडी, इलेक्ट्रोनिक्स लगायतका सामग्री आयातबाटै एक अर्ब ३७ करोडभन्दा बढी राजस्व सङ्कलन भएको तथ्याङ्कले थप उत्साहित भएको बताउनुभयो । 

अध्यक्ष ढकाल भन्नुहुन्छ, ‘‘कोरला नाकाबाट दक्षिण एसियामा व्यापार विस्तार गर्न सकिन्छ, यो नाकाले नेपालको व्यापार घाटालाई न्यूनीकरणमा धेरै राहत मिल्छ ।’’ अध्यक्ष ढकालले निजी क्षेत्रले कोरला नाकालाई नियमित सञ्चालनका लागि आवश्यक पर्ने सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

कोरला नाकालाई चीन सरकारले नियमित सञ्चालन गर्नेगरी भौतिक पूर्वाधारसहित भन्सार क्षेत्रमा आवश्यक सबै संरचनाहरू विस्तार गरेको अवस्थामा नेपाल सरकारले समेत पूर्वाधार विस्तारमा प्राथमिकता दिएमा गण्डकी प्रदेशलाई आर्थिक कारोबारमा हब बनाउन सकिने गण्डकी प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो ।

कोरला नाकाबाट हिन्दु, बौद्ध, जैनलगायत विभिन्न समुदायका धर्मावलम्बीको अति पवित्र तीर्थस्थल कैलाश तथा मानसरोवरको दर्शनका लागि जान सबैभन्दा सजिलो र कम खर्चिलो हुुन्छ । नाका सञ्चालनमा निजी क्षेत्रको भूमिकाका विषयमा सदरमुकाम जोमसोममा स्थानीय उद्योगी–व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा चीनसँग जोडिएका अन्य भन्सार नाकामा समस्या भएमात्र वैकल्पिक मार्गको रुपमा खोज्ने परम्पराको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । 

एकसय ८६ किलोमिटर दूरीको म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम हुदैं कोरला सडकलाई बाह्रै महिना सञ्चालन, बाढीपहिरोग्रस्त स्थानमा वैकल्पिक वा थप पूर्वाधार विस्तार गर्न सकेमा नाकाबाट आयात हुने सामान ढुवानीमा सहज हुने मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले बताउनुभयो ।

सडक खण्डको छिमेकी जिल्ला म्याग्दीको करिब २० किलोमिटर क्षेत्र पहिरोग्रस्त भएकाले तत्काल  स्थायी समाधान आवश्यक रहेको अध्यक्ष लालचनको भनाइ छ । 

जोमसोम–कोरला भ्रमण तथा भेलामा गण्डकी प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष अमृत भट्टचन, केन्द्रीय सदस्य युवराज राजभण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष, गोकर्ण कार्की बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन शाक्य, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ, गैंडाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष छवि कँडेललगायतको उपस्थिति थियो । 

भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरी छ । निजी क्षेत्रले कोरला नाकाको विस्तारमा आर्थिक, भौतिक र नैतिक सहयोगको प्रतिबद्धता जनाएपछि मुस्ताङी उत्साहित भएका छन् ।