न्यूयोर्क, असोज १२ गते । रूस र युक्रेनबिचको द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नको लागि वार्ता गर्न तयार रहेको रूसी विदेशमन्त्री सर्गेई लाभ्रोभले बताउनुभएको छ ।
लाभ्रोभले रूसको सुरक्षा गर्न र युक्रेनमा रहेका रूसी जनता तथा रूसीभाषीहरुको अधिकार पुनः स्थापनाको महत्वलाई जोड दिंदै यस्तो बताउनुभएको हो ।
यूएनजीएको ८० औँ सत्रमा आफ्नो देशको तर्फबाट बोल्दै उहाँले मस्कोको अधिकार र चासोको विश्वसनीय सम्मानमा आधारित भएमा रूस युक्रेनका लागि सुरक्षा ग्यारेन्टी बारे छलफल गर्न तयार रहेको बताउनुभएको हो ।
द्वन्द्वले राष्ट्रहरूबिचको सार्वभौमसत्तामा समानताको सिद्धान्तको गम्भीर उल्लङ्घन गर्नुका साथै न्याय र विश्वासलाई कमजोर पारी सङ्कट र द्वन्द्व उत्पन्न गर्ने लाभ्रोभले उल्लेख गर्नुभएको छ ।
उहाँले सम्बन्धित राष्ट्रहरूको सैन्य शक्ति, जनसङ्ख्याको आकार वा आर्थिक स्थितिको परवाह नगरी अन्तर्राष्ट्रिय प्रणालीमा सबै राष्ट्रहरूको उचित स्थिति सुनिश्चित गर्न पनि आह्वान गर्नुभएको छ ।
लाभ्रोभले पश्चिममको बल प्रयोग वा धम्कीबाट टाढा रहने सिद्धान्तलाई धेरै पटक उल्लङ्घन गरेको उल्लेख गर्दै यसले मध्यपूर्वको स्थिरतालाई झनै कमजोर पारेको बताउनुभएको छ ।
द्वन्द्वको समयमा, प्यालेस्टिनीहरूविरुद्ध इजरायलद्वारा गैरकानुनी बलको प्रयोग, साथै इरान, कतार, यमन, लेबनान, सिरिया र इराकलाई लक्षित गर्ने आक्रामक उपायहरूले सम्पूर्ण क्षेत्रलाई भड्काउने खतरा खडा गरेको उहाँले जनाउनुभएको छ ।
रूस–अमेरिका सम्बन्धको सन्दर्भमा, लाभ्रोभले युक्रेनी सङ्कटको व्यावहारिक समाधानका लागि राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबिचको अलास्का शिखर सम्मेलनपछि रूसको आशा मस्को र वासिङ्टनबिचको वार्ताको निरन्तरतामा निहित रहेको बताउनुभएको छ ।
रूस र अमेरिकाले विश्वव्यापी अवस्थाप्रति विशेष जिम्मेवारी बोकेका बताउँदै उहाँले नयाँ युद्ध निम्त्याउन सक्ने जोखिमहरूबाट बच्न आवश्यक रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको सुधारको विषयमा, लाभ्रोभले आजको विश्वव्यापी शक्तिको सन्तुलन ८० वर्ष अघिको भन्दा मौलिक रूपमा भिन्न रहेको कुरामा जोड दिनुभएको छ ।
उहाँले सुरक्षा परिषदमा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको प्रतिनिधित्व विस्तार गरी सबै सदस्य राष्ट्रको हितको रक्षा गर्दै पूर्ण पारदर्शिताका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको छ । रासस/क्यूएनए