• १३ असोज २०८२, सोमबार

मुख्यमन्त्रीद्वारा छिन्नमस्ता भगवतीको पूजापाठ

blog

छिन्नमस्ता भगवतीको पूजापाठ गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह । तस्बिरः धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, असोज १२ गते । मधेशको कल्याणार्थको लागि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रसिद्ध आराध्यदेवी छिन्नमस्ता भगवतीको पूजापाठ एवम् दर्शन गर्नुभएको छ। उहाँले विजयादशमीको अवसरमा आइतबार सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवतीको दर्शन गरी पूजापाठ गर्नुभएको हो।

मधेश प्रदेशको समुन्नति, विकास तथा मानव कल्याणको कामना गर्दै छिन्नमस्ता भगवती मातासँग प्रार्थना गरेको उहाँले बताउनुभयो। करिब १० मिनेट मन्दिरको गर्भगृहमा दर्शनसँगै मुख्यमन्त्री सिंहलाई मन्दिरका पीठाधीश महकान्त ठाकुरले पूजापाठ गराउनुभएको थियो। मुख्यमन्त्री सिंहले पूजापाठपछि मन्दिर परिसरमा रहेको शनि मन्दिर, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, कालभैरव मन्दिर, हनुमान मन्दिरमा दर्शन गर्नुभएको थियो। त्यस्तै, मन्दिर परिसरभित्र निर्मित पोखरी, पिकनिक स्थल, धर्मशालासहितबारे पीठाधीश ठाकुरले जानकारी गराउनुभएको थियो।