काठमाडौँ, असोज १२ गते । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलको संयुक्त आयोजनामा चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि आइतबार ‘ट्राफिक वाक’ कार्यक्रम सम्पन्न भएको छ ।
‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित काठमाडौँको रानीपोखरीबाट रणोद्धिप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म विभिन्न जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गर्दै जनपद प्रहरी ट्राफिक प्रहरी र महानगर प्रहरी बलको विशेष र्याली भएको थियो ।
र्याली प्रदर्शनपश्चात् काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वलाई सुरक्षित र दुर्घटना रहित बनाउनका लागि ट्राफिक नियमको पालना गरेर सभ्य समाजको निर्माण गर्नमा सबैले प्रतिबद्ध रहनुपर्ने बताउनुभयो र त्यसका लागि आजको कार्यक्रम लाभदायी हुने उल्लेख गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि हृदयरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले देशको वर्तमान परिवेशमा पनि चाडपर्वको समयमा यस्तो कार्यक्रम आयोजना गरिनु समाजका लागि प्रशंसनीय रहेको बताउनुभयो । साथै उहाँले चाडपर्वको बहानामा कोही कसैले पनि मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा सवारी गुडाउने तथा लागूपदार्थको सेवन गर्ने कार्य गर्नु हानिकारक हुने कुरामा जोड दिनुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अहिलेको परिस्थितिमा विभिन्न अभावसँग जुध्दै ट्राफिक व्यवस्थापनमा खटिरहेको र सडक प्रयोगकर्ताको सुरक्षित यात्राका लागि ट्राफिक प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा जनपद प्रहरी, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी बलका पदाधिकारी, उपत्यकाभित्रका सामुदायिक प्रहरी र सञ्चारकर्मीको उपस्थिति थियो ।