सिराज खान
नेपालगन्ज, असोज १२ गते । बाँकेको दुर्गम र विकट क्षेत्र मानिने राप्तीसोनारी गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा डिजिटल प्रणाली सुरु गरेर जिल्लामा मात्र नभई प्रदेशमै नमुना बन्न सफल भएको छ ।
पालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा डिजिटल प्रणाली सुरु भएपछि बिरामीलाई घरमै बसेर अनलाइनबाट पुर्जी काट्ने सुविधा मिल्नुका साथै सम्पूर्ण तथ्याङ्क र अभिलेख व्यवस्थित राख्न समेत सहज भएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो ।
उहाँले पालिकाभित्रका तीन आधारभूत स्वास्थ्य केन्द्र, एउटा आधारभूत अस्पताल, पाँच स्वास्थ्य चौकी, एउटा सर्पदंश उपचार केन्द्र, पाँच विद्यालय नर्स र एउटा आयुर्वेदिक केन्द्र सबै अहिले डिजिटल भइसकेको बताउनुभयो ।
करिब साढे नौ लाख रुपियाँ खर्च गरेर सुरु गरिएको यो पहलले गाउँपालिकालाई स्वास्थ्य क्षेत्रमा आधुनिकताको नयाँ पहिचान दिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
गाउँपालिकाका अनुसार डिजिटल प्रणाली लागू भएपछि अब बिरामीले घरमै इन्टरनेटमार्फत टिकेट काटेर स्वास्थ्य संस्थामा जान थालेका छन् । उपचारका लागि लामो लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । स्वास्थ्यकर्मीले पनि बिरामीको सम्पूर्ण विवरण कम्प्युटरमा राख्न थालेका छन् ।
गाउँपालिकामा डिजिटल स्वास्थ्य प्रणाली लागू भएपछि स्वास्थ्यकर्मीको काम धेरै सहज भएको जन स्वास्थ्य निरीक्षक देवेन्द्रकुमार केसीले बताउनुभयो । ‘‘पहिले बिरामी आएको मितिदेखि लिएर कुन रोगमा कुन औषधि दिइयो भन्ने विवरण खोज्न निकै समय लाग्थ्यो । तर अहिले कम्प्युटरमा दुई–चार क्लिकमै सबै तथ्याङ्क आउँछ । यसले उपचार गर्न सजिलो बनाएको छ ।,’’ केसीले भन्नुभयो ।
यस प्रणालीले ल्याएको मुख्य परिवर्तन भनेको अभिलेख सुरक्षित राख्ने सुविधा भएको स्वास्थ्य शाखाले जनाएको छ ।
विद्यालय तहमा पनि यो प्रणाली उपयोगी बनेको गाउँपालिकाले जनाएको छ । पाँच विद्यालयमा नियुक्त नर्सहरूले विद्यार्थीलाई दिएको उपचार र परामर्शसम्बन्धी सबै विवरण डिजिटल रूपमा राखिन्छ । यसले विद्यार्थीको स्वास्थ्य निगरानीलाई व्यवस्थित मात्र बनाएको छैन, पालिकालाई भविष्यमा विद्यालय स्वास्थ्य कार्यक्रम विस्तार गर्न वैज्ञानिक आधार पनि दिएको छ ।
डिजिटल प्रणालीले दुर्गम र विकटमा रहेको यो गाउँपालिकालाई प्रविधिको प्रयोगमा अग्रणी र उदाहरणीय बनाउन सफल भएको स्थानीयको भनाइ छ । राप्तीसोनारी ४ का दिनेश थारुले यो कदमले स्थानीय बासिन्दामा स्वास्थ्य सेवाप्रतिको विश्वास बढाएको छ भने पालिकालाई भविष्यप्रतिको प्रतिबद्धतामा अझ दृढ बनाएको बताउनुभयो । उहाँले यस पालिकाबाट शिक्षा लिएर अन्य पालिकाले पनि आ–आफ्ना पालिकाका सेवालाई डिजिटल बनाउनुपर्नेमा जोड दिनुभयो ।