यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया) असोज १२ गते । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
शनिबार राति ११ बजे घरदेखि एक किलोमिटर दूरीमा रहेको खेतमा धान हेरेर फर्कने क्रममा हात्तीले महिलामाथि आक्रमण गरेको थियो । रातिको समयमा आक्रमण गरेको महिलाको घटनास्थलमा मृत्यु भएको हो । हात्तीले आक्रमण गर्दा महिलाको घटनास्थल मै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी सरोजमणि पौडेलले बताउनुभयो । शवलाई आइतबार पोस्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
मृतक खत्रीको श्रीमान् चित्रबहादुर खत्री बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका कर्मचारी हुनुहुन्छ । उहाँका तीन छोरी र एक छोरा छन् ।
विशेष गरी धान पाक्ने सिजनमा जङ्गली हात्ती किसानको खेतमा धान खान आउने गर्छ । हात्ती धपाउने क्रममा किसानको मृत्यु हुने गरेको छ । यस अघि गत माघ ३० गते ठाकुरबाबा नगरपालिका वडा नं २ बलातीमा ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको थियो ।