चन्द्र पन्दाक
ताप्लेजुङ, असोज १२ गते । जेनजी आन्दोलनका क्रममा गत २४ गते केन्द्रीय कारागार जगनाथदेवल, काठमाडौँबाट भागेका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन् । प्रहरीका अनुसार ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ दोखु बस्ने २७ वर्षीय ज्ञानु वाङ्देल भन्ने आयुष पालुङ्वा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङ्लिङ नगरपालिका–६ स्थित साथीको घरमा लुकिछिपी बसेको अवस्थामा पालुङ्वालाई शनिबार पक्राउ गरिएको हो । जबरजस्ती करणी मुद्दामा आठ वर्ष छ महिना कैद सजाय तोकिएका पालुङ्वा जेनजी आन्दोलनका क्रममा भागेका थिए ।
यता पक्राउ परेका पालुङ्वामाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पालुङ्वाले तोकिएको कैद सजायमध्ये पाँच वर्ष भुक्तान गरिसकेका छन् ।