• १३ असोज २०८२, सोमबार

दसैँमा घर पुग्नै सकस

blog

रास्कोटतर्फ जाँदै गरेको गाडी । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, असोज १२ गते ।
यतिबेला दसैँ मनाउन आ–आफ्नो घर जानेहरुको भिड बढेको छ । अन्य समयमा खासै आउजाउ नहुने कालीकोटका ग्रामीण सडकमा दसैँको समयमा घर फर्किने र तिहार मनाएर कार्यक्षेत्र तिर फिर्ता हुनेहरुको भीडले यात्रा निकै कष्टपूर्ण हुने गरेको छ ।

कालीकोटका रास्कोट जाँदै गरेका पिटर शर्माले चाडवाडको यात्रा कहिलै सहज नभएको बताउनुभयो । काठमाडौँबाट हेटौँडा हुँदै मोटरसाइकलमा सुर्खेत आइयो, सुर्खेतदेखि सार्वजनिक यातायातमा बस्ने सिटसम्म नपाएर गाउँ पुग्दा खुट्टाले काम गर्न छोडेको उहाँ बताउनुहुन्छ ।

‘‘१२ घण्टासम्म उभिएर यात्रा गर्दा सहज हुने कुरै भएन,’’ शर्माले भन्नुभयो, ‘‘हामी अलि उमेर भएकाहरुलाई यस्तो हालत छ भने वृद्धवृद्धा र बालबालिकालाई दसैँमा गाउँ आउन यो जस्तो यातना अरु केही नभएको आफुले महसुस गरेको छु ।’’

चालकसहित दस सिटका गाडीमा २३ देखि २५ जना अनिवार्य राख्ने गरिएको छ । गाडीको क्षमता दस जनाको त्यसको डबल त्यसैमा घर जानेहरुको एक जनाको कम्तीमा तीन बोराका दरले सामान गाडी भुइँमा छोइन्छ, तर पनि ग्रामीण सडकमा हिक्मतका साथ हाँकिरहेका छन् ।

हेर्दा गाडी टायर थिचिएका हुन्छन् तर पनि गुडेकै छन् । पलाँता जाँदै गरेका रमेश बमले भन्नुभयो । म आफैँ आएको गाडीमा हामी २२ जना थियौँ, गाडीको सानो हुटमा तीन लाइन बनाएर सामान बाँधेको, अलि कोल्टो परेको सडकमा अब गाडी ढल्छ जस्तो अनुभूति भइरहेको थियो, तर पनि केही नभएर यात्रा पूरा भयो यही नै उपलब्धि हो बमले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

जिल्लाका नरहरिनाथ, पलाँता, पचालझरना, सान्नीत्रिवेणी, शुभकालिका गाउँपालिका जाने र रास्कोट नगरपालिकाका साथै तिलागुफा र खाँडाचक्र नगरपालिकाका बस्तीमा जाने सडक सबै जोखिम छन् । तर पनि कोचाकोच यात्रुले भरिएका गाडी गुडिरहेका छन् । दसैँमा घर जाने र तिहारपछि कार्यक्षेत्रमा फर्किने यो दुई सिजन यात्रुले निकै कस्ट झेल्नुपरेको छ ।