• २१ असार २०८१, शुक्रबार

सरकारले केरुङ-काठमाडौं रेलमार्ग निर्माण गर्न सक्दैन : विश्वप्रकाश शर्मा

blog

काठमाडौं, असार १५ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको छ। 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको हो। 

उहाँले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताउनुभयो। महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने बताउनुभयो। 

नेपाल गरिब राष्ट्र भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने उहाँको भनाइ छ। उहाँले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। 

महामन्त्री शर्माले अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भए पनि रेल कहाँबाट ल्याउने र सक्छौँ, सक्दैनौँ भन्ने आधार नै नरहेको बताउनुभयो। उहाँले एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकैपटक चार वटामा प्रवेश गर्नु गलत भएको बताउनुभयो। उहाँले चुनावका लागि गरिने प्रतिबद्धतामा ध्यान दिनुपर्ने भन्दै चुनाव लागेकै कारण विमानस्थल बनाउँछु भनेर गलत सूचना दिन र गर्न नसकिने प्रतिबद्धता व्यक्त गर्न नहुने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘विश्वप्रकाश शर्मा बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन। हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ। हामी सक्दैनौँ, तिमीहरु व्यापार गर, लिज बाटो दिन्छौँ। हामी गरिब राष्ट्र छौँ, तिमीहरुको एउटा गिफ्ट प्रोजेक्ट लिन चाहन्छौँ भनेर भारत र चीनलाई भन्न सक्नुपर्छ।’’ 

महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा परेको बताउनुभयो। डकुमेण्ट बनाउन मन्त्रिमण्डलमा बस्ने, छलफल, संवाद गर्नेले दिएको गलत सूचनाका कारण पनि जनता भड्किरहेकोले गलत सूचना प्रसारण गर्न नहुने बताउनुभयो।