नवीनराज कुइँकेल
लमजुङ, असोज ११ गते । लमजुङ र मनाङको सिमामा पर्ने दुधपोखरी कुण्डमा नुहाउन जाँदा बेपत्ता हुनुभएका एक किशोरको शव फेला परेको छ ।पाँच हजार तीनसय मिटर उचाइमा रहेको दुधपोखरीमा साउन २४ गते नुहाउने क्रममा हराउनुभएका लमजुङको क्व्होलासोथार गाउँपालिका ४, भुजुङका १८ वर्षीय मनोज गुरुङको शव फेला परेको हो ।
जनैपूर्णिमाका दिन दुधपोखरीमा पौडी खेल्नेक्रममा उहाँ तालभित्र बेपत्ता हुनुभएको थियो । उहाँको शव हेलिकप्टरमार्फत पुगेको गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले फेला पारेको छ ।
भुजुङ गाउँदेखि हिँडेर दुई दिन लाग्ने दुधपोखरीमा नुहाउन मनोजसँगै नौजना साथीहरु गएका थिए । यसअघि हराएका किशोरलाई स्थानीय र प्रहरी पुगेर खोजी गरे पनि भेटिएका थिएनन् । गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले गाउँपालिकाले व्यवस्थापन गरी शुक्रबार पोखराबाट एयर डाइनेस्टीको हेलिकोप्टरमा गोताखोरसहित ४ जना सशस्त्र प्रहरी पठाइएको बताउनुभयो । टोलीले पोखरीबाट उद्धार गरेको शवलाई मृतकका दाइ रेकबहादुर गुरुङले सनाखत गरेपछि कानुनी प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाएको छ ।
गोताखोरसहित पुगेको टोली हेलिकोप्टरमार्फत शनिबार पोखरा फर्किएको गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार घटनाबारे जानकारी पाएपछि यसअघि प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा ४ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षकसहित ५ जनागरी ९ जनाको टोली आएको थियो ।